चितवन जाँदै गरेको हायस नागढुङ्गाबाट भीरमा खस्दा २० जना घाइते, २ जनाको अवस्था गम्भीर

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगरपालिका-२, नागढुंगानजिकै शनिबार अपरान्ह एउटा माइक्रोबस दुर्घटना हुँदा सो माइक्रो बसमा सवार २० जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८३२९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको थियो ।

सो माइक्रोबसमा चालक, सहचालकसहित २० जना सवार थिए ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गणबाट खटिएका सशस्त्र प्रहरीहरू तथा स्थानीयले घाइतेहरूको उद्दार गरेका थिए । घाइतेमध्ये दुईजनाको अवस्था भने गम्भीर रहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

दुर्घटनामा चार जना बालबालिका, पाँच जना महिला र ११ जना पुरुष घाइते भएका हुन् ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दुर्घटनामा घाइते हुनेमध्ये १० जना भारतीय नागरिक रहेका छन् ।

घाइतेहरूको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । गाडीका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन् । उनीसहित माइक्रोमा ६ जना बालबालिका, ५ महिला र १० जना पुरुष रहेका थिए ।

घाइतेमध्ये १६ वर्षका सक्षम अधिकारीको बायाँ खुट्टामा, ४१ वर्षका सुजाता अधिकारीको टाउको, खुट्टा लगायतको भागमा चोट लागेको छ ।

अन्य घाइते नेपालीहरू अञ्जिला शाह, सुविदा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङको अवस्था भने सामान्य रहेको छ ।

भारतीय नागरिक पटनाका २४ वर्षीया रिन्कुदेवीको बायाँ हातमा चोट लागेको छ ।

रवीकुमार, सार्थककुमार, मानवीकुमार, डब्लुकुमार, राजकुमार, शिवकुमार, प्रञ्जलकुमार, निश्चलकुमार र रितुकुमारीको अवस्था भने सामान्य रहेको छ ।

तस्वीरः सुरेश सुर्खेती


Leave a Reply

Your email address will not be published. Required fields are marked *