नेकपा एमाले बागमती प्रदेशकाे निर्णय: हरेक ३ महिनामा नेताहरू २ हप्ता जनताको घरमा बस्नुपर्ने

Thankot Times

थानकोट ।

नेकपा एमाले बागमती  प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा विभिन्न ९ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

बैठकले प्रत्येक ३ महिनामा दुई हप्ता मातहतका कमिटीका नेताहरू अनिवार्य रूपमा जनताको घरमा बस्न पर्ने अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन्।

यसै गरी इजरायलले इरानमाथि आक्रमण गरेपश्चात् इजरायलमा रहेका नेपालीहरूको सुरक्षा र नेपा फर्कन महानेहरुलाई सुरक्षित हिसाबले फर्काउने व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गरेको छ ।

किसानलाई समयमा नै पर्याप्त मात्रामा रासायनिक मल र बीउ बिजन उपलब्ध गराउन बैठकले नेपाल सरकारसँग माग गरेको छ । कृषि उत्पादनको समर्थन मूल्य निर्धारणमा किसान प्रतिनिधिको सहभागिता अनिवार्य गर्न र किसानले उत्पादन गरेका वस्तुहरूको बजारको ग्यारेन्टी गर्न नेपाल सरकारसँग बैठकले माग गरेको छ ।

देशभर मनसुन सक्रिय भई वर्षा हुने क्रम बढेकोले वर्षाबाट हुन सक्ने क्षतिको रोकथाम र न्यूनीकरणका उपायहरू अवलम्बन गर्न, सबै वडा वडामा आवश्यक सामाग्रीसँगै तालिम प्राप्त जनशक्ति तयार गर्न, प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका गर्न लागि समेत सबै तहका सरकारसँग बैठकले माग गरेको छ ।

जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ ले दिएको अधिकार रक्षा र संविधानले ग्यारेन्टी गरेका अधिकारहरूलाई खण्डित हुने गरी चालिएका प्रतिगामी शक्तिबाट चालिएका गतिविधिहरूको बैठकले निन्दा गरेको छ । ‘यसका विरुद्ध सबै एकजुट भई प्रतिवाद गर्न गणतन्त्र र लोकतन्त्र पक्षधर सबैलाई यो बैठक हार्दिक आव्हान गर्दछ’, बैठकको निर्णयमा उल्लेख छ ।

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मार्गमा कृषि, श्रम र उत्पादनमूलक क्षेत्रलाई आधार मान्दै आएको कुरालाई मध्यनजर गर्दै बैठकले सामाजिक न्याय, उत्पादनमा आधारित समृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

‘त्यसैले कृषि उत्पादनमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ बीउ उत्पादन र परीक्षणका लागि वैज्ञानिक प्रयोगशालाको श्रमको सम्मान र जीवनस्तर उकास्न कृषिमा व्यवसायीकरण, कृषकको यान्त्रीकरण र वैज्ञानिक प्रणालीको विकास गर्न, खाद्य सुरक्षालाई सुनिश्चित गर्दै आत्मनिर्भरता हासिल गर्न, किसानलाई राज्यबाट सामाजिक सुरक्षा र संस्थागत संरक्षण दिन यो बैठक जोडदार माग गर्दछ’, निर्णयमा उल्लेख छ ।

बाँझो जमिनलाई उपयोग गर्न प्रदेश कृषि भूमि उपयोग नीति निर्माण गर्न बैठकले माग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *