नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई २ वर्ष, टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद सजाय

Thankot Times

थानकोट ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

जिल्ला अदालत काठमाडौँले रायमाझीको हकमा कैदसँगै ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

नक्कली शरणार्थीसम्बन्धी मुद्दामा दोषी ठहर भएका प्रतिवादीहरूको हकमा अदालतले फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाउँदै सजाय निर्धारण गरेको हो ।

यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणको सजाय निर्धारण भएको छ ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार खाणलाई दुई वर्ष कैद सजायसहित २० हजार रुपैयाँ जरिबाना तोकेको हो ।

सजाय निर्धारणका लागि भएको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणको हकमा अन्तिम सजाय निर्धारण गरेको हो ।

अदालतले विभिन्न कसुरअनुसार छुट्टाछुट्टै सजाय तोकेको छ । ठगीसम्बन्धी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद तथा १५ हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ ।

यस्तै, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ भने थप तीन महिनाको कैद सजाय पनि कायम गरिएको छ । सबै कसुरको एकीकृत सजाय गणना गर्दा खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने अदालतले निर्धारण गरेको हो ।

यसअघि न्यायाधीश खड्काकै इजलासले असार २४ गते नक्कली शरणार्थीसम्बन्धी मुद्दामा फैसला गर्दै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनालाई सफाइ दिएको थियो । उक्त फैसलापछि दोषी ठहर भएकाहरूको हकमा अदालतले क्रमशः सजाय निर्धारण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *