इन्द्रस्थान भ्यू-टावरबाट आयकर संकलनका लागि चन्द्रागिरि नगरले ठेक्का आह्वान गर्यो, रकम घट्यो

Thankot Times

थानकोट ।

देशका घुम्नैपर्ने एक सय गन्तव्यको सूचीमा रहेको चन्द्रागिरि नगरपालिका-१ दहचोक इन्द्रस्थानस्थित कालु पाँडे समाधिस्थल हातामा निर्माण भएको भ्यू-टावर सञ्चालन ल्याउन चन्द्रागिरि नगरपालिकाले आयकर संकलनका लागि सार्वजनिक ठेक्का आह्वान गरेको छ ।

गोरखापत्र राष्ट्रिय दैनिकमा बुधबार सूचना जारी गर्दै नगरले भ्यू टावर, कालु पाँडे समाधिस्थल, पार्किङ व्यवस्थापन एवं गिफ्ट शप सञ्चालनबाट आयकर संकलनका लागि ठेक्का आह्वान गरेको हो ।

ती कार्यका लागि न्यूनतम ७ लाख ५० हजार रुपैयाँ कबोल अंक कायम गरिएको छ ।

यीनै कार्यका लागि गत वर्ष न्यूनतम २० लाख रुपैयाँ कबोल अंक कायम गरिएकोमा ठेक्का नलागेपछि यसपटक कबोल अंकमा व्यापक हेरफेर गरिएको हो । 

इन्द्रस्थान भ्यू-टावरबाट आयकर संकलनका लागि चन्द्रागिरि नगरले तेस्रोपटक ठेक्का आह्वान गर्यो

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा १९ को उपदफा २ घ को १, २, र १३, परिच्छेद ९ को दफा ६० र ६२ को व्यवस्था, चन्द्रागिरि नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, २०७८ र चन्द्रागिरि नगरपालिका कार्यपालिकाको निर्णयको अधिनमा रही नगरपालिकाको क्षेत्राधिकारभित्र रही सो ठेक्का आह्वान गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

सो ठेक्का सम्झौता ३ वर्षको लागि हुने र कबोल गरेको रकममा प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुने बताइएको छ । 

२०८१ सालमा बैशाख २१ गते नगरले पहिलो पटक ती संरचना भाडामा लगाउन ठेक्का आह्वान गरेकोमा कुनै ठेक्का स्वीकृत नभएपछि असार ६ गते पुनः सूचना जारी भएको थियो । सो आह्वानमा समेत कुनै ठेक्का स्वीकृत नभएपछि नगरले साउन ४ गते पुनः ठेक्का आह्वान गर्दै सूचना जारी गरेकोमा कुनैपनि ठेक्का स्वीकृत नभएपछि दहचोक भ्यू टावरबाट आयकर संकलनको कार्य हुन सकेको थिएन् ।

इच्छुक व्यक्ति वा संस्थाले साउन ९ गतेभित्र बोलपत्र पेश गर्न सक्ने नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

वि.सं २०७५ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको समाधिस्थलसँगै उनको पूर्णकदको शालिक अनावरण गरेका थिए भने सोही बखत ओलीले दहचोकमा निर्माण गरिएको पाँच तले भ्यू टावरको उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *