नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
थानकोट ।
प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले बिहीबार नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गरेका छन्।
समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा हालसम्म रु पाँच करोड बराबरको औषधि बिक्री गरिसकेको छ, जबकी अघिल्लो वर्ष कूल बिक्री रु चार करोड ७८ लाख नौ हजार २६३ रहेको थियो।
उनले कम्पनीको वार्षिक औषधि उत्पादन तथा बिक्रीमा १० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको जनाउँदै भने, ‘यदि यो संस्थानलाई राम्ररी चलाउनुछ भने मन्त्रालयमार्फत होइन, नीतिगत स्पष्टता र लगानी आवश्यक छ। अहिले बजेट शून्य छ र सरकारी भवन भाडामा दिएर तलब धानिरहेका छौँ। सरकारले आफैँ उत्पादन गरेको औषधि पनि नकिन्ने हो भने हामी कसरी बाँच्ने?’
अनुगमनपछि समितिका सभापति अब्दुल खाँनले संस्थाको समस्या गम्भीर रहेको उल्लेख गर्दै संसद्को सम्बन्धित समितिमा छलफल गरेर समाधानको पहल गरिने जानकारी दिए।
‘लिमिटेड सरकारी स्वामित्वमा रहेको संस्था हो’, उनले भने, ‘सरकारी निकायले आफैँले उत्पादन गरेको औषधि खरिद नगर्नु दुःखद् हो। संस्थाले पनि क्षमता विस्तार गर्नुपर्छ, हामी आवश्यक छलफलमार्फत निकास खोज्छौँ।’
हाल औषधि लिमिटेडले सिटामोल, जीवनजललगायत ११ प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ भने आगामी वर्षमा यो सङ्ख्या २० पुर्याउने लक्ष्य राखिएको छ।
संस्थाका अध्यक्ष यज्ञप्रसाद न्यौपानेका अनुसार हाल उत्पादनका हिसाबले संस्था सकारात्मक दिशामा अघि बढिरहेको छ। उनले उत्पादन राम्रो भएकै कारण विश्वस्वास्थ्य सङ्गठनबाट पनि मान्यता पाएको र छिट्टै २० प्रकारका औषधिहरू उत्पादनमा पुर्याइने जानकारी दिए।












