नेकपा एमालेको बहिष्कारका बाबजुद चन्द्रागिरि नगरको बजेट बहुमतले पारित
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ।
असार ८ मा बसेको नगरको सोहाैं नगर सभाको दोश्रो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि रु २ अर्ब ९३ करोड ४६ लाख बजेट प्रस्तुत भएको थियो ।
उपप्रमुख बसन्ती श्रेष्ठले बजेटको विषयमा असहमति जनाउँदै बजेट पेश गर्न नमानेपछि नगरप्रमुख घनश्याम गिरीको अनुमतिमा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरसभाको दोस्रो बैठकमा पेश गरेकाे उक्त बजेट नगरप्रमुख गिरीले सोमबार (असार ३० गते) पारित गर्न नगरसभा समक्ष पेश गरेका थिए। उक्त बजेट बहुमत सदस्यले ताली बजाएसँगै पास भएको हो।
आर्थिक वर्ष २०८२-८३ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ९३ करोड ४६ लाख प्रस्ताव
सोमबारको बैठकमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यले बजेटको पक्षमा ताली बजाएका थिए भने नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरूले बहिष्कारको क्रमलाई निरन्तरता दिँदै बैठक कक्षबाट बाहिरिएका थिए ।
यस बारेको भिडियो हेर्न यहाँ थिच्नुहोस्
चन्द्रागिरि नगरपालिका नगर सभामा नेपाली काँग्रेसबाट मेयरसहित ४० जना, नेकपा एमालेबाट उपमेयरसहित २९ जना र नेकपा माओवादी केन्द्रबाट १० जना रहेका छन् ।
बजेट चन्द्रागिरिको समग्र विकासका लागि लक्षित नभइ नगरबासीहरूलाई अध्याँरोतर्फ लग्न उद्दत गर्ने गरी बजेट ल्याइएको भन्दै नेकपा एमाले सम्बद्ध नगर सभा सदस्यहरूले बजेट बहिष्कार गरेका हुन्।
घाटा बजेटका कारण कैयन समस्या उत्पन्न हुने भएकोले हुबहु बजेट स्वीकार गर्न नसकिने उनीहरूको भनाइ छ ।
चालु वर्षकै करोडौं भुक्तानीहरु बाँकी रहेकोले अब आउने लागेको बजेट पनि सोही परिस्थिति दोहोरिने भन्दै नगरको हितका लागि बजेटका कैयन पक्षमा असहमति रहेको उनीहरूको प्रतिक्रिया छ ।
यसअघि ९ बुँदे असहमति पत्र वाचन गरेपछि नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरलाई सो असहमति पत्र हस्तान्तरण गर्दै नेकपा एमाले सम्बद्ध नगर सभासदस्यहरू आसनबाट उठेर बजेटको विरोध गरेका थिए ।
तत्पश्चात पनि सभा निरन्तर अघि बढेपछि उनीहरू बाहिरिएका थिए ।
बहुमतको आधारमा गरिएको निर्णयले नगर दुर्घटनामा फस्ने, बैठकमा उपस्थित नै नभएका सदस्यलाई निर्णय पुस्तिका बनाई हस्ताक्षर गराएको र स्थानीय सरकार सञ्चालन ऐन समेतको पालना नगरी काङ्ग्रेसले दम्भ प्रदर्शन गरेको आरोप लगाउँदै सभा बहिष्कार गरिएको सो असहमति पत्रमा उल्लेख छ ।
यस्तै, संविधान र कानुनलाई नटेकी विषयगत समितिमा छलफल नै नगरी तथा उपप्रमुखको अस्तित्व र भूमिकालाई समेत वास्ता नगरी कार्य गरेको साथै बजेट सीमा निर्धारण समितिको बैठकको वैधानिकतामाथि समेत प्रश्न उठ्ने गरी प्रचलित विधि र स्थानीय सरकार सञ्चालन ऐन र कानुन मिच्दै स्रोत सुनिश्चितता बिना प्रस्ताव गरिएको बजेट मान्य नहुने भन्दै नेकपा एमालेले चन्द्रागिरि नगरको नगर सभा बहिष्कार गरेको बताइएको छ ।
नेकपा एमालेले चन्द्रागिरि नगरको १६औं नगर सभाको तेस्रो बैठकमा वाचन गरेको असहमति पत्र हेर्नुहोस्














