उपसभामुख रुवी कुमारी चीन प्रस्थान
थानकोट ।
उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनतर्फ प्रस्थान गरेकी छन्।
संघीय संसद् सचिवालयका अनुसार उनी चीनको न्याङ्ग्ची (निङ्ची) सहरमा आयोजना हुने पाँचौँ चीन-सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन बिहीबार बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन्।
प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा.रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्।
असार ३१ गतेदेखि साउन १ गतेसम्म सञ्चालन हुने मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलका तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उपसभामुखको भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको छ।
प्रतिनिधिमण्डल साउन ४ गते नेपाल फर्कने कार्यतालिका रहेको संघीय संसद् सचिवालयले जनाएको छ।









