नेपाल र जर्सीबीच आज दोश्रो अभ्यास खेल हुँदै
थानकोट ।
नेपालले एकदिवसीय अभ्यास शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आज जर्सीको सामना गर्दै छ । खेल जर्सीको एनसीसी ग्रानभिलमा नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
नेपाल यो खेल पनि जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल ८१ रनले विजयी भएको थियो ।
पहिलो खेलमा कुशल भुर्तेलले सतक प्रहार गर्दा हेमन्त धामीले चार विकेट लिएका थिए ।
त्यसअघि नेपालले सन् २००८ मा घरेलु भूमिमा नै आयोजना भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ मा जर्सीसँग खेलेको थियो । यो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलिरहेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखला जुलाई २१ देखि सुरु हुँदै छ ।









