सभापति लामिछानेको पक्षमा रास्वपाले बटुल्यो साढे २४ लाख हस्ताक्षर, यस्तो छ नयाँ योजना
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी मुद्दामा थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर संकलन गरेको जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत रास्वपाले हस्ताक्षर अभियानका लागि अहिलेसम्म ६० लाख खर्च भइसकेको जानकारी दिएको हो ।
अभियानका संयोजक सहकोषाध्यक्ष दीपक बोहोराका अनुसार, अपिल छपाइमा १७ लाख २० हजार, प्रचारमा तीन लाख ८० हजार, भोलिन्टियरको खाजा खर्चमा सातलाख ५० हजार खर्च भएको छ । उनले थप एक लाख हस्ताक्षर फारम छाप्न दिएको र अपिल पनि छपाइका लागि प्रेसमा रहेकाले थप खर्च हुने बताए ।
“रवि दाइको अपिल छाप्न दुई रुपैयाँ ९० पैसा र फारम छाप्नसमेत खर्च लाग्ने हुँदा हस्ताक्षरकर्ताहरूबाटै पैसा संकलन गर्न चन्दा अभियान चलाएको हौँ,” बोहोराले भने, “यो आफैँमा महँगो अभियान हो ।”
उनले एकजना ८० वर्षीय वृद्ध ७०० वटा हस्ताक्षर संकलन गरेर बुझाउनमात्र आएको बताए । विदेशमा भइरहेको हस्ताक्षरको तथ्यांक संकलन भइनसकेको उनको भनाइ छ ।
अब हस्ताक्षर अभियानलाई घरदैलो अभियान बनाउने पनि बोहोराले बताए । “यही साउन ५ गतेदेखि वडा समितिमार्फत हामी हस्ताक्षर संकलनका लागि घरघर जानेछौँ । रोपाइँ चलिरहेको भए खेतमै पुगेर हस्ताक्षर लिनेछौँ,” उनले भने, “सीमा नाकाहरूमा पनि हस्ताक्षर संकलन अभियान विस्तारित गर्छौं । विदेशमा पनि त्यसरी नै हस्ताक्षर संकलन गर्नेछौँ ।”
बोहोराले संकलित तथ्यांक टुँडिखेल वा त्यस्तै स्थानमा सार्वजनिक गर्ने पनि जानकारी दिए ।












