चन्द्रागिरिका जनप्रतिनिधिले उर्जा मन्त्रीलाई भेटेर मागे किसिपिडी घटनाका पीडितलाई राहत
थानकोट ।
चन्द्रागिरि नगरका जनप्रतिनिधिले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्कासँग भेट गरेका छन् । सांसद् राजेन्द्रकुमार केसीको नेतृत्वमा सिंहदरबार पुगेको जनप्रतिनिधिको टोलीले गत असार २७ गते चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडीका ३६ वर्षीय नवीन महर्जनको विद्युतीय दुर्घटनामा परि निधन भएको घटना जानकारी गराएको नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।
चन्द्रागिरिमा सडक बत्ती मर्मत गर्ने क्रममा दुर्घटना, एक जनाकाे ज्यान गयाे
प्रवक्ता खड्गीका अनुसार भेटमा मन्त्री खड्काले किसिपिडी घटनाका पीडितलाई राहत दिने सन्दर्भमा आफु गम्भीर रहेको बताएका छन् ।
चन्द्रागिरिका जनप्रतिनिधिले नगर क्षेत्रमा भइरहेको विद्युत सेवाको अनियमिता, विद्युतीय तारको अवस्था लगायतका विषयमा समेत ध्यानाकर्षण गराएको बताइएको छ । आगामी दिनमा विद्युतीय दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रीसमक्ष अनुरोध गरिएको प्रवक्ता खड्गीको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसँगको भेटका लागि चन्द्रागिरि नगरपालिका वडा नं. ५, ११ र १५ का वडाध्यक्षहरू क्रमश राजेन्द्र महर्जन, नरेन्द्रराज श्रेष्ठ र घनश्याम लुँइटेल तथा कार्यपालिका सदस्य संगीत महर्जनसमेत सिंहदरबार पुगेका थिए ।
उक्त विद्युतीय दुर्घटनाका बारेमा अध्ययन गर्न चन्द्रागिरि नगरपालिकाले कार्यदल नै गठन गरेको छ ।
जसको प्रतिवेदन सार्वजनिक भइसकेको छैन् ।
तस्बिरः नगर प्रवक्ता कृष्णप्रसाद खड्गीको फेसबुकबाट












