मुख्यमन्त्री लामाविरुद्ध सांसद् पुकार महर्जन तथा यमुनादेवी श्रेष्ठको पनि हस्ताक्षर
थानकोट ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ ।
कांग्रेसका चार मन्त्रीले राजीनामा बुझाएर संसदीय दलको नेता हटाउने अभ्यास थालेका छन् ।
हाल हेटौँडास्थित कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरू भेला भएका छन् । ०७९ सालको निर्वाचनपछि पुस १३ मा बहादुरसिंह लामासँग पराजित भएका बागमती प्रदेश सभापति इन्द्र बानियाँले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् ।
उनको पक्षमा २१ मत पुगेको सचिवालयले जनाएको छ । बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद छन् । ०७९ पुस १३ मा बानियाँका पक्षमा १८ र लामाका पक्षमा २१ मत थियो ।
हाल उक्त मतलाई उल्टाएको बानियाँ पक्षको दाबी छ ।
संसदीय दलको नेताबाट हटाएसँगै मुख्यमन्त्रीबाट पनि हटाउने बानियाँ पक्षको तयारी छ । लामा पक्षले भने जनजातिमाथि भएको षडयन्त्र सफल हुन नदिने भन्दै बानियाँ दोस्रोपटक संसदीय दलमा पराजित हुने दाबी गरेको छ । बानियाँ पक्षले २१ जनाको हस्ताक्षर भइसकेको बताएको छ ।
बागमती प्रदेश सभापति इन्द्र बानियाँको अगुवाइमा भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ छिरिङ दोर्जे लामा, मीना पराजुली, यांकीला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।














