पार्टी सभापतिले आफ्ना शर्तमा हरियो झण्डा देखाएपछि मुख्यमन्त्री लामाले आज राजीनामा दिने
थानकोट।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राखेको शर्त पूरा हुने भएपछि आज आइतबार पदबाट राजीनामा दिने भएका छन् ।
सभापति शेरबहादुर देउवासँग शनिबार बुढानीलकण्ठमा भएको छलफलपछि लामा सशर्त राजीनामा दिन तयार भएका हुन् ।
देउवाको उपस्थितिमा भएको छलफलमा लामाले साउन १४ गते मन्त्री नियुक्त गरेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई निरन्तरता दिने शर्तमा पदत्याग गर्न सहमति भएको लामा निकट प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिए ।
‘हामीले तीन जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुपर्ने अडान राख्यौँ । सभापतिज्यू र इन्द्रजीले सहमति जनाउनुभयो,’ चित्रकारले भने, ‘त्यसपछि मुख्यमन्त्रीले आइतबार राजीनामा दिने निर्णय भएको हो ।’ आइतबार हेटौँडामा मन्त्रिपरिषद्को बैठक बसेर पत्रकार सम्मेलन गरेपछि राजीनामा दिने उनले स्पष्ट पारे ।
मुख्यमन्त्री लामा साउन १४ गते पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । दलको नेतामा हार बेहोरेपछि उनलाई पार्टीभित्रबाट राजीनामा दिन दबाब बढेको थियो ।
देउवाले शुक्रबार लामालाई निवासमा बोलाएर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
शनिबारको छलफलमा बानियाँ, लामा र लामाको पक्षमा रहेका १४ जना सांसद सहभागी थिए ।
छलफलमा पार्टीभित्रको विभाजनलाई मिलाएर अघि बढ्ने विषयमा पनि सहमति भएको चित्रकारले बताए ।
मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरे पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा भने अस्पताल डिस्चार्ज भएका छैनन् ।
मूत्र थैलीमा सङ्क्रमण भएपछि गत बिहीबार अस्पताल भर्ना भएका प्रदेश प्रमुख देवकोटा काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।












