काठमाण्डौ शिक्षा क्याम्पसका विद्यार्थीहरूका लागि लक्षित गरि उद्यमशीलता कार्यक्रम आयोजना

Thankot Times

थानकोट ।

सतुङ्गलस्थित काठमाण्डौ शिक्षा क्याम्पसमा सो क्याम्पस र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सञ्चालित उद्यमशीलता: नवप्रवर्तन, विकास, र नयाँ उद्यम सिर्जना विषयक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

कार्यक्रममा क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग साझा गर्दै उद्यमशीलताको महत्व र व्यवहारिक पक्षबारे जानकारी गराएका थिए।

क्याम्पस प्रमुख गुप्ताले विद्यार्थीहरूलाई “आफ्नो मालिक आफै बन्नुहोस्”, “वास्तविक संसारका समस्याहरू समाधान गर्नुहोस्” र “रोजगारीहरू सिर्जना गर्नुहोस्, केवल तिनीहरूलाई खोज्ने मात्र होइन” भन्ने प्रेरणात्मक मूल मन्त्र दिँदै वर्तमान डिजिटल युगमा प्रविधिमैत्री व्यवसाय र नवप्रवर्तनमै आधारित सोच विकास गर्नु समयको माग भएको स्पष्ट पारेका थिए।

कार्यक्रममा युवा उद्यमी प्रतिभा गैरेको विशेष उपस्थिति थियो। उनले आफ्ना संघर्ष, सिकाइ र सफलताका पाटाहरू विद्यार्थीहरूसँग साझा गरेकी थिइन्।
कार्यक्रममा उद्यमशीलता सम्बन्धी विभिन्न पक्षहरूमा उद्यमशीलताको परिभाषा र वर्तमान सन्दर्भमा यसको आवश्यकता,  व्यापार सुरु गर्ने चरणहरू, नवप्रवर्तनमार्फत अवसरको पहिचान गर्ने तरिका, जोखिम व्यवस्थापन र दीगो उद्यम सञ्चालनका उपाय, स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने उपायहरू, प्रविधिको प्रयोगमार्फत स्टार्टअप विकास गर्ने रणनीति लगायतका बारेमा जानकारी दिएको क्याम्पसले जनाएको छ ।

प्रस्तुतीकरणमा उल्लेख गरिएअनुसार, सन् २०२५ मा नेपालको स्टार्टअप इकोसिस्टम तीव्र गतिमा अगाडि बढिरहेको छ।

विशेषगरि सफ्टवेयर निर्माण, एडु-टेक, र फिन-टेक क्षेत्रमा २२ भन्दा बढी स्टार्टअपहरू क्रियाशील छन्।

यद्यपि ग्लोबल स्टार्टअप इकोसिस्टम इन्डेक्समा नेपाल चार स्थान तल झरेर १०७औँ स्थानमा पुगेको देखिन्छ।

तर पनि दक्षिण एशियाली क्षेत्रमा नेपाल पाँचौँ स्थानमा कायम रहेको छ, जसले नेपालभित्र सम्भावनाको ठूलो क्षेत्र खुला रहेको संकेत गर्दछ।
यस्ता कार्यक्रममा विद्यार्थीहरूलाई पाठ्यक्रमबाहेक व्यवहारिक ज्ञान दिइनुले उनीहरूको सोच र दृष्टिकोणमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। फेसबुक, ड्रपबक्स, रेडिटजस्ता स्टार्टअपहरू विद्यार्थी अवस्थामै सुरु भएको उदाहरण दिँदै कार्यक्रमले विद्यार्थीहरूमा “तपाईं नै अर्को सफल उद्यमी हुन सक्नुहुन्छ” भन्ने सन्देश दिन खोजेको देखिन्छ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा उद्यमशीलताको सोच विकास गर्नु, तिनीहरूलाई आत्मनिर्भर र सिर्जनशील बनाउनु, तथा स्टार्टअप संस्कृति र नवप्रवर्तनशील कार्यशैलीमा जोड दिनु रहेको थियो।

काठमाण्डौ शिक्षा क्याम्पसले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएका छन्। यस्ता कार्यक्रममा सहभागी विद्यार्थीहरूले आत्मविश्वास, जोश र व्यवहारिक ज्ञान प्राप्त गर्ने हुँदा उनीहरू भविष्यमा आफ्नै उद्यम सुरु गर्न सक्षम हुने अपेक्षा क्याम्पस प्रशासनले राखेको छ।

सो कार्यक्रमले शिक्षा संस्थाहरू केवल शैक्षिक ज्ञानमा सीमित नभई व्यवहारिक र जीवनोपयोगी सीप प्रदान गर्ने थलो पनि हुनुपर्छ भन्ने दृष्टिकोणलाई बलियो बनाएको क्याम्पसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *