थानकोट रुटमा रात्रिकालीन बससेवाले अबेरसम्म काम गर्ने सर्वसाधारणलाई राहत
थानकोट ।
काठमाडौंमा रात गहिरिँदै जाँदा अधिकांश सडक सुनसान बन्छन् । तर, हजारौँ मानिसका लागि दिन त्यतिवेलासम्म बित्दैन जबसम्म काम सकिँदैन् ।
जसमा अस्पतालका स्वास्थ्यकर्मी, होटेल–रेस्टुरेन्टका कर्मचारी, सुरक्षागार्ड, पसल सञ्चालकदेखि राति ढिलोसम्म श्रम गर्ने धेरै नागरिक आउँछन् । तर, उनीहरूका लागि जहिल्यै चिन्ता हुन्थ्यो– घर कसरी पुग्ने ?
खास गरेर रात्रिकालीन सार्वजनिक यातायात बन्द भएपछि महँगो ट्याक्सी, जोखिमपूर्ण पैदलयात्रा वा समयअगावै काम छाड्नु उनीहरूको बाध्यता थियो । तर, अहिले रात्रिकालीन साझा बससेवाले त्यो चिन्ता बिस्तारै हटाइदिन थालेको छ । ढिलोसम्म चल्ने रात्रिकालीन बससेवाले काठमाडौंको रात्रिजीवनका साथै सिंगो सहरलाई पनि चलायमान बनाइरहेको छ ।
फिल्ड रिपोर्टिङका क्रममा नयाँ पत्रिकाले संवाद गरेका कैयौँ पात्रले रात्रिकालीन साझा बससेवाले काम गर्नेहरूलाई सुरक्षित, भरपर्दो र किफायती यात्रा गराइरहेको अनुभव सुनाए । त्यसमध्येकी एक हुन्– बुढानीलकण्ठकी सीता थापा । उनको महाराजगन्ज क्षेत्रमा तरकारी पसल छ । र, राति ९:३० बजेसम्म उनको तरकारी पसल खुला रहन्छ । त्यसपछि उनी घर फर्कन चक्रपथस्थित नारायणगोपाल चोकमा बस कुर्छिन् ।
९:३० देखि १० बजेको बिचमा साझा बस आइपुग्छ । बसको सिटमा आनन्दले बसेर उनी घर पुग्छिन् । ‘यो बस चल्नुअघि ८ बजे नै पसल बन्द गरेर कुद्नुपर्दथ्यो, ८ बजे नै बस पाउन कठिन हुन्थ्यो, तर १ वैशाखदेखि आनन्द भइरहेको छ,’ लगनखेल–बुढानीलकण्ठ रुटमा चल्ने बस पछ्याउने क्रममा सोमबार भेटिएकी उनले नयाँ पत्रिकाकर्मीलाई सुनाइन्, ‘१० बजेसम्म पसल खोल्दा पनि बस पाइन्छ, अबेरसम्म पसल खोल्दा व्यापार पनि हुन्छ, घर जान पनि बस पाइन्छ, रात्रिबसले मलाई ठुलो गुन लगाइरहेको छ ।’
सीताजस्तै बुढानीलकण्ठ नारायणथानकी कल्पना मगर पनि आफ्नो पसलकै कामले ढिलो फर्किन्छिन् । विगतमा घर फर्कँदा हिँडेर र राइड सेयर प्रयोग गर्ने उनलाई हिजोआज निकै सजिलो भइरहेको छ । ‘८ बजेपछि कामबाट आउँदा सजिलो भएको छ, नारायणथानबाट गणेशस्थान चोकसम्म म ओहोरदोहोर गर्छु, त्यहाँ मेरो पसल छ,’ उनले सुनाइन्, ‘यो चल्नुअघि कहिले पठाओ, कहिले हिँडेर ओहोरदोहोर गर्थेँ, रातिको समयमा हिँड्दा डर पनि लाग्थ्यो, तर अहिले साझा बसमा सरर यात्रा गर्न पाइएको छ ।’
लगनखेलस्थित एक क्लिनिकमा काम गर्ने सुरेश माझीलाई कामबाट निस्कँदा १० बज्छ । उनको घर बुढानीलकण्ठमा हो । रात्रिकालीन बस नपाउँदा उनी सेयर राइडिङकै भर पर्थे । अब भने उनलाई राति ढिलो भए पनि चिन्ता छैन, २५ रुपैयाँ तिरेपछि उनी लगनखेलबाट बुढानीलकण्ठ पुग्छन् । ‘रात्रिकालीन बसले ढिलो गर्दैन, धेरैबेर रोक्दैन, यहाँबाट आधा घण्टामा त बुढानीलकण्ठ पुग्छ, रात्रिबसले मलाईचाहिँ साह्रै सजिलो भएको छ,’ उनले सुनाए, ‘अरू यात्रुहरूलाई पनि सजिलो भएको छ, यस्तो बससेवा अझ थप्नुपर्छ ।’
तीन महिनाअघिसम्म यस्तै बाध्यता थियो महाराजगन्ज क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने नरेन्द्र बस्नेतलाई । वैशाखदेखि सुरु भएको रात्रिबसका कारण उनले राति ढिलोसम्म पसल खोल्न पाएका छन् । पसल ढिलोसम्म खोल्दा व्यापार पनि बढी हुन्छ । ‘पहिले छिटोछिटो पसल बन्द गरेर हिँड्नुपर्ने थियो, त्यसैमा पनि भरोसा थिएन, अबचाहिँ निकै सजिलो भएको छ,’ उनले सुनाए, ‘राति ढिलोसम्म पसल खोल्दा सामान धेरै बेच्न पाइन्छ, महानगर र साझा यातायातलाई धेरै धन्यवाद दिन चाहन्छु ।’
काठमाडौंमा साँझ पर्दै जाँदा सहरको चहलपहल बिस्तारै सेलाउँदै जान्छ । कार्यालयबाट घर फर्किने मानिसको भिड घट्न थाल्छ, पसलका सटर बन्द हुन थाल्छन् र सडकमा सार्वजनिक सवारीसाधन पनि क्रमशः पातलिन्छन् । तर, सहरको गति भने त्यतिमै रोकिँदैन । अस्पतालका स्वास्थ्यकर्मी, होटेल–रेस्टुरेन्टका कर्मचारी, सुरक्षागार्ड, पसल तथा व्यवसाय सञ्चालन गर्नेहरू वा औद्योगिक तथा सेवा क्षेत्रमा कार्यरत श्रमिकलगायत हजारौँ मानिसका लागि रात अबेरसम्म कामकै व्यस्तता हुन्छ ।
काम सकिएपछि सुरक्षित र सहज रूपमा घर कसरी पुग्ने भन्ने यिनै मानिसहरूको चिन्ता रात्रिकालीन साझा बससेवाले हल गरेको छ । जब कि यस्तो सेवा नहुँदा कतिपयले सुनसान सडकमा लामो दूरी पैदल हिँडेर घर पुग्नुपर्ने जोखिम मोल्छन् । धेरैले सार्वजनिक यातायात नपाइने डरले काम नसकिँदै कार्यालय वा कार्यस्थल छाड्छन् ।
रात्रिकालीन साझा बसका चालक सुर्यबहादुर योञ्जनले राति बस चलाउँदा यात्रुहरूलाई राहत मिलेको अनुभव सुनाए । उनी एयरपोर्टदेखि थानकोट रूटमा बस चलाउँछन् । ‘बस चलाउने समय ८ बजेदेखि ११ बजेसम्म भए पनि कतिपय यात्रुहरूलाई असहज भएको छ भने गन्तव्यमा पुर्याउँछौँ,’ उनले नयाँपत्रिकासँग भने, ‘राति भेटिने यात्रुहरूले उपलब्धिमूलक भएको भनेर सुनाउनुहुन्छ, यात्रुहरू खुसी हुँदा हामी खुसी हुन्छौँ ।’
उनका अनुसार रातिको समयमा बस चलाउनु दिउँसोको भन्दा सुरक्षाको हिसाबले बढी संवेदनशील हुन्छ । त्यसका लागि बसमा दुवैतर्फ सिसिटिभी जडान गरिएको छ । त्यस्तै, रात्रिकालीन बसलाई जिपिएस सिस्टमबाट पनि पछ्याउन सकिन्छ । साझा प्लस एप्सबाट बस कहाँ–कहाँ आइपुगेको छ भनेर थाहा हुन्छ । सुरुवातमा बसमा सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका नगर प्रहरीसमेत राखिएको थियो । तर, त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनापछि नगर प्रहरी खटाउन छाडिएको छ ।
काठमाडौं महानगरपालिका र साझा यातायातको समन्वयमा १ वैशाखदेखि सञ्चालन गरिएका बसमध्ये लगनखेल–बुढानीलकण्ठ रुटमा तीनवटा गुड्छन् । यी बसले राति ८ बजेदेखि ११ः४५ बजेसम्म सात फन्को मार्छन् । त्यस्तै, अन्य चारवटा एयरपोर्ट–कलंकी–थानकोट रुटमा गुडछन् । यी दुई रुट लामो रुट मानिन्छन् । कलंकी हुँदै आउँदा उपत्यकाबाहिरबाट आउने यात्रुहरूसमेत रातिको समयमा अलपत्र पर्न पाउँदैनन् ।
जहाजबाट एयरपोर्टमा ओर्लिएका यात्रुहरूले पनि रात्रिकालीन बससेवा लिन सक्छन् । एयरपोर्ट हुँदै गुड्ने बस सीनामंगल, नयाँ बानेश्वर, माइतीघर, सहिदगेट, सुन्धारा, त्रिपुरेश्वर, कालीमाटी, कलंकी हुँदै थानकोटसम्म पुग्छ भने सोही रुटबाट फर्किन्छ । यो रुटमा पनि रातिको समयमा बसले सात फन्को मार्छन् । अन्तिम ट्रिप राति ११ बजे थानकोटबाट छुट्छ । उक्त बस एयरपोर्टमा पुगेर पार्किङ गरिन्छ । रातिको समयमा सडक खाली हुने भएकाले गन्तव्यमा पुग्न र फर्किन सहज हुने गरेको चालकको अनुभव छ ।
हाल रात्रिकालीन सेवाअन्तर्गत एयरपोर्ट हुँदै नागढुंगासम्म र लगनखेल हुँदै बुढानीलकण्ठसम्म साझा बस सञ्चालन भइरहेका छन् । यी बसहरू विद्युतीय हुन् । रातको समयमा पनि सडकमा गुडिरहेका विद्युतीय साझा बसले सार्वजनिक यातायातको पहुँचलाई केही घण्टा थप विस्तार गरेको यात्रुहरू बताउँछन् । उनीहरू रात्रिकालीन बससेवाले अहिले सीमित यात्रुलाई राहत मिलेकोले अन्य रुटमा पनि रात्रिबस सञ्चालन हुनुपर्ने माग गरिरहेका छन् ।
‘सार्वजनिक यातायात कुनै पनि सहरको जीवनरेखा हो, त्यो जीवनरेखा बिहानदेखि बेलुकासम्म मात्र सीमित हुँदा रातिमा पनि ओहोरदोहोर गर्नुपर्नेहरूलाई मर्का परिरहेको छ, तर साझाको रात्रिकालीन सेवाले भने सहजता थपिरहेको छ,’ सोमबार सुन्धारामा रात्रिकालीन बसमा भेटिएका वासुदेव कडायतले भने, ‘रातको समयमा सडकमा गुड्ने बसले कसैलाई अस्पतालबाट घर फर्किन मद्दत गर्छ, कसैलाई काम सकेर परिवारसम्म पुग्न, कसैलाई महँगो ट्याक्सीको खर्चबाट जोगाउँछ भने कसैलाई रातको सुनसान सडकमा हिँड्नुपर्ने बाध्यताबाट, त्यसैले यो सेवा निरन्तर सञ्चालन गर्नुपर्छ ।’
रात्रिकालीन बसका चालकहरू पनि विद्युतीय बस भएकाले सञ्चालन खर्च तुलनात्मक रूपमा कम हुने बताउँछन् । यसले सेवा सञ्चालनमा सहजता थपेको उनीहरूको भनाइ छ । लगनखेल–बुढानीलकण्ठ क्षेत्रको रुटमा रात्रिकालीन साझा बस चलाउने चालक कृष्ण तामाङ रात्रिबसले यात्रुहरूलाई ठुलो राहत मिलेको बताउँछन् ।
उनका अनुसार साझा बस चलेको देखेर अन्य सार्वजनिक यातायातका साधन पनि चलिरहेका छन् । ‘रातिको समयमा दिनमा जस्तो यात्रुको चाप हुँदैन, राति १० बजेपछि प्राय: १०–१२ जना यात्रुहरू हुन्छन्, उनीहरूलाई सेवा दिन पाउनु पनि राम्रो हो, रातिको समयमा कतिपय मानिसहरू सवारीसाधन नपाएर अलपत्रसमेत परेका हुन्छन्,’ उनले सुनाए, ‘यात्रुहरूलाई धेरैभन्दा धेरै राहत मिलिरहेको छ, खुसी भएर कतिपय खानेकुरासमेत ल्याइदिनुहुन्छ, नियमित चढ्ने यात्रुहरू निकै सन्तुष्ट छन्, कमाइ पनि ठिकै छ, मुख्य कुरा त रातिको समयमा यात्रुलाई फाइदा भइरहेको छ ।’
उनका अनुसार अन्तिम समय राति ११ बजे लगनखेलबाट बुढानीलकण्ठका लागि बस छुट्छ । उक्त बस करिब ११ः४५ मा बुढानीलकण्ठ पुग्छ । त्यहीँ बास बस्छ । भोलिपल्ट बिहान ५ बजेदेखि फेरि त्यहीँबाट यात्रुहरू बोकेर लगनखेलतर्फ जान्छ ।’










