मातातिर्थमा बन्ने भयो यस्तो स्वरुपमा शिव मन्दिर
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं ८ मातातिर्थ ढाक्सीमा शिवशक्ति पीठ अघोरेश्वर महादेव मन्दिर निर्माण हुने भएको छ ।
भष्मेश्वर पहाडको काखमा मातातिर्थ र मच्छेनारायणको बीचमा अवस्थित पशुपतिनाथ महादेव दक्षिण मुख अघोर अघोरेश्वरको आश्रम भएकाले त्यहाँ शिव मन्दिर बन्न लागेको हो ।
अघोर किनारामी गुरु शिष्य परम्परा अन्तर्गत बाबा अवधूत मंगलधन रामज्यूद्वारा संस्थागत गरिएको आश्रम नजिक मन्दिर बनाइने बताइएको छ ।
आयोजकहरूका अनुसार आध्यात्मिक, धार्मिक, सामाजिक संस्था भएकाले मन्दिर बनाएर मानिसहरूमा आध्यात्मिक उन्नति, मनुष्य धर्मको ज्ञान, मानवीय गुणको विकास एवम् धर्म, संस्कृति, परम्पराको संवर्द्धन गर्ने जस्ता कुराहरूलाई दृष्टिगत गरी यस आश्रम परिसरमा शक्ति पीठ स्थापना हुनेछ । यस मन्दिरमा माँ महाकाली, महालक्ष्मी, महासरस्वतीको विग्रह साथै शिवलिंग एवम् माँ गुरुहरूको विग्रह स्थापना गरिनेछ ।
मन्दिरबाट मानिसहरूले मानवीय गुण, चरित्र , व्यवहार सिकेर गुरुको आशीर्वाद प्राप्त गरी आफ्नो आत्म कल्याण, परिवार, समाज र राष्ट्रको कल्याण गर्नेछन् ।
असहाय, रोगीहरूलाई सुलभ, सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यस आश्रम परिसरमा माँ गुरु अस्पताल निर्माण गर्ने उद्देश्य राखी अस्पताल भवन निर्माणको भुमिपुजन, शिलान्यास पनि गरिएको छ ।
सबै संवेदनशील धर्मात्मा, पुण्यात्मा आत्माहरूलाई यस मन्दिर र अस्पताल निर्माणको पुण्य कर्ममा जोडिएर साथ, सहयोग, योगदान पुर्याएर अध्यात्म, धर्म, राष्ट्र सेवा, मानव सेवाको मार्गमा अघि बढी आफ्नो मानव जीवनलाई सार्थक आयोजक संस्थासँग जोडिएका विकास कुमारले आग्रह गरेका छन् ।
नागरिक न्युजबाट ।












