विप्लवसँग एकता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय
थानकोट ।
नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लवसँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।
‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ,’ बैठकपछि सापकोटाले भने, ‘छिट्टै वार्ता समिति बनाएर अगाडि बढ्ने कुरा भएको छ ।’
यस अघि पनि माओवादीले पटक-पटक विप्लवसँग एकता गर्ने निर्णय गरेको थियो । तर माओवादीको उक्त निर्णय रणनीतिक विषयमा मात्रै सीमित बनेको थियो ।
केही दिन अघिसम्म माओवादीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि एकता गर्ने गरी छलफल गरेको थियो ।
स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रचण्डले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी थप एकताबद्ध भएको बताए । पार्टीले गुटबन्दी अन्त्य गरेको उनको भनाइ छ ।
‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरण, गणतन्त्रको सुदृढीकरणका निम्ति हाम्रो पार्टीले महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो । त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं । पार्टी एकताबद्ध भएको छ,’ प्रचण्डले भने, ‘हामी सामूहिक प्रतिवद्धता व्यक्त गरेका छौं । अबदेखि हामी सुदृढ एकताका साथ सबै गुटबन्दी र समूहबद्धताको अन्त्य गर्ने संकल्प गरेका छौं । सामूहिक रूपले प्रतिबद्धता व्यक्त गरेका छौं ।’
अब फेरि एकपटक विसंगतिविरुद्ध जनतामा जाने निर्णय भएको उनको भनाइ छ । ‘फेरि एकचोटी देशमा देखिएको विसंगतिको अन्त्यका निम्ति आन्दोलनमा जाने निर्णय गरेका छौं,’ प्रचण्डले भने ।













