लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्णले स्नातक तहमा ३९ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापस्थित लायन्स क्लब अफ काठमाडौं इन्द्रअन्नपूर्ण योगले प्रविधि-विधि-नेतृत्व छात्रवृत्ति शीर्षकमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि ३९ जना विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

आर्थिक अभावका कारण प्रतिभाशाली र जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा लिनबाट बञ्चित हुन नपरोस भन्ने हेतुले सो अवसर दिने प्रबन्ध गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
संस्थाका सभापति उदय भण्डारीका अनुसार हाल सान इन्टरनेशनल कलेजमा सो छात्रवृत्तिको व्यवस्था हुनेछ । यसपछि अन्य शैक्षिक निकायसँग पनि छात्रवृत्तिका लागि समन्वयका लागि प्रयास थालिनेछ ।
जसअनुसार बीएसी बायोटेक्नोलोजीमा ५ जना, बीबीएमा १५ जना, बीआइटीमा ५ जना, बीएसी सीएसआइटीमा ४ जना, बीसीएमा ४ जना र बीए एलएलबीमा ६ जनाले छात्रवृत्ति पाउने कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले जानकारी दिए ।

यो पहल केवल छात्रवृत्ति मात्र होइन, यो राष्ट्रको प्रगति र विकासमा योगदान पुर्‍याउने सक्षम व्यवसायिक र परिवर्तनका वाहकहरू तयार पार्ने हाम्रो लगानी हो, लायन्स क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
उक्त छात्रवृत्तिका लागि भदाै तेस्रो साता प्रवेश परीक्षा लिइने सान कलेजका कार्यक्रम निर्देशक धुर्व खड्काको भनाइ छ ।
छात्रवृत्तिका लागि देशका जुनसुकै स्थानका विद्यार्थीहरूले लायन्स क्लबको कार्यालय चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापमा वा सान इन्टरनेशनल कलेजमा निवदेन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *