रामहरि खतिवडाको नाम संसदीय सुनुवाइ समिति सदस्यमा अनुमोदन

Thankot Times

थानकोट ।

प्रतिनिधिसभाले संसदीय सुनुवाइ समिति सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको नाम अनुमोदन गरेको छ ।

सुनुवाइ समितिको सदस्यमा कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको ठाउँमा खतिवडाको नाम हेरफेर गर्ने प्रस्तावलाई सभाले स्वीकृत गरेको हो ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सभामुखको आसनबाट उपसभामुख इन्दिरा रानाले यो प्रस्ताव गरेकी थिइन् ।

प्रतिनिधिसभाले यो प्रस्ताव स्वीकृत गरेसँगै सुनुवाइ समिति सदस्यमा कांग्रेसका सांसद खतिवडाको नाम अनुमोदन भएको हो ।

यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति थिए । खतिवडाले राज्य व्यवस्था समिति सभापतिबाट राजीनामा दिएपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।

सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएर न्यौपाने राज्य व्यवस्था समितिको सभापति भएकी छन् । न्यौपानेलाई सुनुवाइ समिति सदस्यबाट समेत हेरफेर गरेर खतिवडालाई लगिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *