गणेश नेपाली मृत्यु प्रकरणः राज्यले घटनाको जिम्मेवारी नलिएसम्म शव नबुझ्ने परिवारको अडान

Thankot Times

थानकोट ।

काठमाडाैंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच निरन्तर वार्ता भइरहेको छ ।

परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएका छन् । मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारबाही, घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धता माग गरेको छ ।

यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरकारी पक्ष र परिवारबीच हिजो अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन् ।

परिवारले शव नबुझेकाले पोस्टमार्टम प्रक्रिया पनि अघि बढ्न सकेको छैन । वीर अस्पतालमा लामो समय शव राख्ने पर्याप्त साधन नभएकाले शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा सारिएको छ ।

घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । घटनामा नगर प्रहरीको भूमिका, ह्विल लक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाक्रमबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुगुको सोरु गाउँपालिका–६ का गणेश नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *