आज संविधान दिवस, देशभर सार्वजनिक बिदा, चन्द्रागिरिमा हुने छैनन् औपचारिक कार्यक्रम
थानकोट ।
आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मनाइँदैछ । संविधान दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अहिले बिहान साढे ८ बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् ।
अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो ।
मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।
संविधान दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकामा आज कुनै औपचारिक कार्यक्रम हुने विवरण सार्वजनिक भएको छैन् ।












