राज्यलाई आधा सम्पत्ति दिन तयार छु- व्यवसायी मीनबहादुर गुरुङ
थानकोट ।
भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले सरकारलाई आवश्यक परे आफू आधा सम्पत्ति दिन तयार रहेको बताएका छन्।
भदौ २४ गतेको तोडफोड तथा आगजनीमा ठूलो क्षति बेहोरेका गुरुङले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा यस्तो बताएका हुन्।
‘राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु भनेर मैले पहिलेदेखि पनि भन्दै आएका छु र यति बेला पनि दिन तयार छु, ’ गुरुङले आज प्रधानमन्त्रीसँगको भेटमा भने ।
भदौ २४ गतेको आन्दोलनमा भाटभटेनीको मुख्य कार्यालयसहित २८ मध्ये १२ वटा स्टोरमा आगजनी भएर पूर्ण क्षति भएको थियो भने नौ वटा स्टोरमा तोडफोड भएको थियो ।
हाल तोडफोड भएका सुपरस्टोर पुनः सञ्चालनमा ल्याइसकेका छन्। अहिले १६ वटा सुपरस्टोर सञ्चालनमा रहेका छन्।
आइतबारको भेटमा उनले बीमा दाबी छिटो-छरितो गर्न तथा सुरुमै कम्तीमा ५० प्रतिशत भुक्तानीको व्यवस्था गर्न आग्रह गरेका थिए।
भाटभटेनी समूहले हाल १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ। क्षति पुगेका १२ स्टोर तत्कालका लागि बन्द भए पनि कुनै पनि कर्मचारीलाई ननिकाल्ने र सेवा सुविधा कटौती नगर्ने प्रतिबद्धता गुरुङले जनाइ सकेका छन् ।
वार्षिक रूपमा भाटभटेनी सुपर स्टोरले २७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ।

















