मकवानपुर-काठमाडाैं जोड्ने दुई सडक खण्डमा असोज २० गतेसम्म राति सवारी आवागमन रोकिँदै
थानकोट ।
शुक्रबार गतेदेखि असोज २० गतेसम्म मकवानपुरका दुई सडक खण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले मध्यमदेखि भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार सूचना जारी गरी यस्तो व्यवस्था गरिएको जनाएको हो ।
प्रशासनले कान्तिलोक पथ हुँदै हेटौंडाबाट ललितपुरतर्फ जाने सवारीलाई बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म र हेटौंडाबाट भैंसे हुँदै काठमाडौंतर्फ जाने सवारीलाई बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको जनाएको छ।
जिल्लामा सम्भावित पहिरो, बाढी र डुबानबाट हुन सक्ने क्षति रोक्नका लागि अत्यावश्यक नभई सकेसम्म यात्रामा ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ। साथै, स्थानीय तहलाई पहिरो जोखिम क्षेत्रमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
प्रशासनले जिल्ला स्थित सबै सुरक्षा निकाय, स्थानीय तह, टोल विकास समिति, स्वयंसेवक तथा साझेदार संस्थाहरुलाई प्रतिकार्य र पूर्वतयारीमा सक्रिय रहन आह्वान गरेको छ।


















