नेपाल ‘ए’ टोलीको पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
थानकोट ।
नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा पहिलो जित निकालेको छ ।
अस्ट्रेलियामा चलिरहेको शृङ्खलाअन्तर्गत हिजो भएको आफ्नो तेस्रो खेलमा नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५५ रनको लक्ष्य पछ्याएको हुरिकेन्स १८ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।
हुरिकेन्सका नितेश सामुएलले ३७, टिम वार्डले २३ र निभेथन राधाकृष्णनले २० रन बनाए ।
नेपालका नारायण जोशीले ३ विकेट लिए । शाहब आलम र पवन सर्राफले समान २-२ तथा बिपिन खत्रीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
यो खेलमा कुशल भुर्तेलले ३९, मयन यादवले ३१ तथा कप्तान अनिलकुमार साहले २८ रन बनाए ।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक र दोस्रो खेलमा बङ्गलादेश हाई प्रफरमेन्स–११ सँग पराजित भएको थियो ।











