नर्भिक अस्पतालले बढायो नर्सहरूको तलब
थानकोट ।
निजी क्षेत्रको अग्रणी अस्पताल नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ ।
अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब रु ३७,००० (सैँतीस हजार) कायम गरिएको हो ।
नर्भिक अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागू हुनेछ। अस्पतालले चालु आर्थिक वर्षमा दोस्रो पटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो ।
अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीहरूको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ ।
नर्भिकले गत महिना भएको जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीहरूले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ ।
अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।












