विपिन जोशीको शव काठमाडौं आइपुग्यो
थानकोट ।
इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव काठमाडौं ल्याइएको छ।
उनको शव बोकेको विमान सोमबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले विमानस्थल पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्ने तयारी छ। हाल उर्जामन्त्री कुलमान घिसिङ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगिसकेका छन्।
विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरी उनको शव आजै गृहजिल्ला कञ्चनपुर लगिँदैछ। उनको अन्तिम संस्कार कञ्चनपुरको भीमदत्तनगरस्थित पारिवारिक परम्पराअनुसार गरिनेछ।
अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका जोशी गत वर्ष २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणपछि बन्धक बनाइएका थिए। त्यसयता उनको अवस्था अज्ञात रहेकामा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु भएको पुष्टि गरेका थिए।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्धक साटासाट गर्ने क्रममा हमासले उनको शव इजरायली सेनालाई बुझाएको थियो।
डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि फरेन्सिक जाँच गरिएको थियो। जाँचका क्रममा उनको अपहरणकै क्रममा मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।
नेपाल ल्याउनुअघि आइतबार इजरायलको तेल अविव र बेनगुरियन विमानस्थलमा जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। उनको शव राखिएको कफिनलाई नेपालको राष्ट्रिय झण्डाले ढाकिएको थियो।
फाइल फोटो












