विपिन जोशीको शव कञ्चनपुरमा लगियो, शवयात्रा मंगलबार बिहान ८ बजे हुने
थानकोट ।
मध्यपूर्वमा हमासले बन्धक बनाएको अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदीमा अन्त्येष्टि हुने भएको छ।
भीमदत्त नगरपालिका-३ बाट मंगलबार बिहान ८ बजे शवयात्रा सुरु भएर महाकाली नदीमा धार्मिक विधि अनुसार अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
विपिन जोशी अपहरणमा परेको २ वर्ष १३ दिन पछि सोमबार दिउँसो उनको शव नेपाल ल्याइएको थियो।
फ्लाई दुबईको विमानबाट अपराह्न विपिनको शव नेपाल ल्याइएको थियो। सोमवार पौनै ५ बजे काठमाडौँ बाट नेपाली सेनाको स्काई ट्रक उनको शव ल्याएर उडेको थियो। धनगढी विमानस्थलबाट शव बहानामा महेन्द्रनगर उनको घरमा शव लगिने प्रजिअ ढकालले बताए।
प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमा उनको शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेकी थिइन्।
इजराइल गएको ४ सातामै आक्रमणमा परे
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विज्ञान सङ्कायमा अन्तिम सेमिस्टारमा अध्ययनरत उनी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत २०८० साल भदौ २६ गते उनी इजरायल गएका थिए।
इजराइलको प्यालेष्टाइनको कब्जामा रहेको गाँजा क्षेत्र नजिकै इजरायलको एलोमिन भन्ने स्थानमा रहेको कृषि फार्ममा नेपाली १७ जना विद्यार्थी कार्यरत थिए।
हमास लडाकु समूहले आक्रमण गरेपछि बङ्करमा लुकेर बसेका विद्यार्थी माथि लडाकुहरू बङ्कर भित्रै पसेर ग्रिनेड र गोली प्रहार गरेका थिए। १७ जना विद्यार्थी मध्य १० जना विद्यार्थीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। भने विपिन सम्पर्क विहीन भएका थिए।
एक भिडिओमा गाजामा अस्पताल लगिँदै गरेको अवस्थामा विपिन जोशी देखा परेपछि उनी अपहरणमा परेको पुष्टि भएको थियो।
मारिनेमा ८ जना सुदूरपश्चिमकै
इजराइलमा सुनौलो सपना बोकेका ११ विद्यार्थीले हमासको आक्रमणमा परेर ज्यान गुमाएका छन्। ती मध्य ८ जना सुदूरपश्चिमकै रहेका छन्। जिउँदो आउने झिनो आशा रहेका विपिनको शव पुगेपछि सुदूरपश्चिम प्रदेश पुरै शोकमा डुबेको छ।
कृषि विज्ञान तर्फ स्नातक तहको अन्तिम सेमेष्टरका उनीहरु १० महिनाका लागि इजरायल गएका थिए। विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो।
कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको थियो। आर्थिक विपन्न परिवार र मध्यम परिवारमा दुःखगरि हुर्के पढेका विद्यार्थी सुनौलो भविष्यको सपना साँचेर इजरायल गएको ४ साता हुन नपाउँदै हमास लडाकुको कहालीलाग्दो आक्रमणको सिकार हुन पुगे।












