तिहारमा ४१ हजार थान चाँदीका सिक्का बिक्री

Thankot Times

थानकोट ।

यस वर्षको तिहारमा मात्र करिब ४१ हजार थान चाँदीका सिक्का बिक्री भएको छ ।

गुणस्तरीय (९९९.९९ टच) सुन नभएको भन्दै यस वर्ष असर्फी बिक्री नगरेको राष्ट्र बैंकले चाँदीका सिक्का मात्र वितरण गरेको थियो । सोही क्रममा करिब ४१ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष राष्ट्र बैंकले १०/१० ग्रामका सिक्का मात्र वितरण गरेको थियो । हरेक दिन चाँदीको बजार भाउअनुसार राष्ट्र बैंकले सो दिनको सिक्काको मूल्य तय गर्दै आएको थियो । यसअनुसार प्रतिदिन प्रतिथान सिक्काको मूल्य फरक फरक थियो । सो अवधिमा प्रतिथान ३ हजारदेखि ३ हजार ३ सयसम्ममा सिक्का बिक्री भएको थियो । औसतमा प्रतिसिक्का ३ हजार १ सयका दरले हिसाब गर्दा पनि करिब पौने १३ करोड रुपैयाँ बराबरको चाँदीको सिक्का बिक्री भएको बताइएको छ ।

सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । यसअनुसार ‘९९९.९९ टच’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । असर्फी बनाउन राष्ट्र बैंकले प्रयोग गर्ने यही सुन हो । त्यही गुणस्तरको सुन अभाव रहेको भन्दै यस वर्ष राष्ट्र बैंकले सुनका सिक्का बिक्री गरेन ।

सुनका सिक्का नभएपछि राष्ट्र बैंकले रुपैयाँ एक र दुईका सामान्य र चाँदीको सिक्का असोज ३१ सम्म बिक्री गरेको थियो । ती सिक्कालाई मेडालियन र स्मारिका नाम दिइएको छ । ती सिक्का चाँदी र किप्रोनिकल (तामा र निकल मिश्रण गरिएको) बाट पनि बनाइन्छ ।

मेडालियन भन्नाले आभूषण, सजावट, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले टकमारी ९निर्माण० गरिने सिक्का हो । प्राय: यी सिक्का चाँदीबाट बनाइन्छ । यी सिक्कामा विभिन्न किसिमका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाका चित्र अंकित गरिन्छ । कुन सिक्कामा कुन चित्र अंकित गर्ने भन्ने कुरा बजार मागमा निर्भर हुन्छ । हाल लक्ष्मी, गणेश र लक्ष्मी-गणेशको संयुक्त चित्र भएका चाँदीका सिक्काको माग धेरै रहेको राष्ट्र बैंकले बताएको छ । यी सिक्कामा अंकित मूल्य उल्लेख हुन्छ । सिक्का खरिद गर्दा अंकित मूल्यअनुसार नै रकम तिर्नुपर्छ ।

चाँदीलगायत अन्य धातु सम्मिश्रण गरी स्मारिका सिक्का बनाइन्छ । यो विशेष अवसरमा निष्कासन गरिने सिक्का हो । स्मारिका सिक्का निष्कासन गर्दा सरकारको अनुमति चाहिन्छ । यस्ता सिक्कामा राष्ट्रिय विभूति वा सरकारबाट अनुरोध भई आएका व्यक्तित्वसँग सम्बन्धित विषयवस्तु राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धि अंकित गरिन्छ । स्मारिका सिक्का पनि अंकित मूल्यमा बिक्री गरिन्छ ।

यस वर्ष एउटा व्यक्तिले बढीमा चार थान चाँदीका सिक्का उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ । चाँदीका स्मारिका र मेडालियन सिक्का खरिदका लागि अनिवार्य रूपमा सक्कल नागरिकता वा सो खुल्ने प्रमाण र सोको प्रतिलिपि आवश्यक गरिएको थियो ।एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनचाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । तर नोटको माग दसैंमा धेरै भएजस्तै सुन, चाँदीका सिक्काको माग तिहारमा धेरै हुने राष्ट्र बैंकका अधिकारी बताउँछन्  । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । यसले पनि नेपालीहरूमा सुन र चाँदीका सिक्काप्रतिको मोह अचाक्ली रहेको पुष्टि हुन्छ ।

सुन र चाँदीको बजार मूल्यका आधारमा असर्फी, स्मारिका र मेडालियन सिक्काको मूल्य तोकिन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ । बजारमा सुनचाँदी पसलमा पनि असर्फी र चाँदीका सिक्का बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ ।

यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै सिक्का खरिद गर्न रुचाउँछन् । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *