भदाै २४ को घटनामा संलग्न चन्द्रागिरिका १ सहित २३७ पात्र पक्राउ

Thankot Times

थानकोट ।

गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा प्रहरी, सरकारी सम्पत्ति र निजी घरमा भएको हिंसा, लुटपाट र आगजनीमा संलग्न भएको आरोपमा देशभरबाट २३७ जना पक्राउ परेका छन्।

प्रहरी, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसदलगायतका घरमा तोडफोड, चोरी र आगजनीमा संलग्नहरूलाई विभिन्न प्रमाणका आधारमा पक्राउ गरी मुद्दा दायर गरिएको छ।

प्रदर्शनमा आपराधिक गतिविधि गर्ने, प्रहरीको हतियार लुट्ने, धम्की दिने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई प्रहरीले अनुसन्धान तथा कारबाही गरिरहेको छ।

२४ भदौका दिन महाराजगन्जमा प्रहरी मारिन थालेको भन्दै असई होमबहादुर विक सञ्चार सेटमा गुहार माग्दै थिए । आत्तिएका उनी रुँदै र झोक्किँदै पनि थिए । त्यतिबेला प्रहरीमाथि हमला भइरहेको थियो । महाराजगन्जका असई मिलन राय र जवान उत्तम थापाको हत्या हुन पुग्यो । उता कोटेश्वरमा प्रहरी सहायक हवल्दार अमृत गुरुङ पनि प्रदर्शनकारीबाट मारिए । यी घटनामा संलग्न केही पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगन्जका असई राय र जवान थापाको हत्यामा संलग्न आरोपमा काभ्रे स्थायी घर भई बालुवाटार युवराज क्याप्छाकी, मकवानपुरका सोनाम तामाङ भनिने बुद्धिलाल थिङ, धुम्बाराही बस्दै आएका ६२ वर्षीय होमप्रसाद पौडेल र ललितपुर–८, बालकुमारी बस्ने टीकाराम विक पक्राउ परेका छन् । उनीहरूविरुद्ध ज्यान र आपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा दायर भएको छ ।

‘कल डिटेल रेकर्ड (सीडीआर)’ अनुसार युवराज बिहान ६:४७ बजे विशालनगर क्षेत्रमा सक्रिय थिए । उनी ८:५४ देखि १०:१५ बजेसम्म चक्रपथ नजिकै कुमारी मार्ग, बिहान ११:३७ मा उत्तर ढोका, दिउँसो १२:१५ देखि ५:२६ बजेसम्म कुमारी मार्ग, ६ देखि ७ बजेसम्म नारायणगोपाल चोक वरिपरि देखिन्छन् । प्रहरीलाई दिएको बयानमा अर्का आरोपित तामाङले पनि कसुर स्विकारेका छन् । पौडेलले पनि काठको चिर्पटले हिर्काएको स्विकारेका छन् । थापालाई कार्यालयबाट लछारपछार गर्दै तानेर सुरुमा बाहिर ल्याइएको थियो । त्यसपछि भाटभटेनी सुपर मार्केट पछाडिको भित्री सडकको कुनामा ल्याएर ज्यान मार्ने उद्देश्यले लाठी, फलामको रड, चिर्पट, इँटा, ढुंगालगायतका धारिलो हतियार अन्धाधुन्ध प्रहार गरिएको थियो ।

गम्भीर घाइते बनाएपछि समेत ‘अपमानजनक’ व्यवहार गरिएको थियो । सञ्चार सेटमा गुहार माग्ने असई विकसहितका घाइते अन्य प्रहरीलाई भने सेनाको हेलिकोप्टरबाट उद्धार गरी नेपाल प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरी हत्यामा संलग्न नौ जनामध्ये चार जना पुर्पक्षका लागि थुनामा छन् । प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दामा अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो । ‘बाँकी पाँच जनालाई हिरासतमा राखेर अझै अनुसन्धान गरिरहेका छौं,’ उनी भन्छन् । थिङ चन्द्रागिरि बस्दै आएको प्रहरीको भनाइ छ ।

२३ भदौमा भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेन–जीमाथि राज्यपक्षले दमन गर्दा एकै दिन कम्तीमा २२ जनाको गोली लागेर ज्यान गएको थियो । भोलिपल्टको प्रदर्शनले विध्वंसको रूप लिएको थियो । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित महत्त्वपूर्ण संरचनामा आगजनी भएको थियो । शीर्ष नेता, पार्टी कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका घरमा समेत आगजनी र तोडफोड भएको थियो । धेरै ठाउँमा लुटपाट पनि भएको थियो । अहिले प्रहरीले आन्दोलनका नाममा घुसेका ‘आपराधिक मानसिकता र पृष्ठभूमिका’ व्यक्तिहरूबारे अनुसन्धान गरिरहेको छ । दोस्रो दिनसमेत गरेर जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ, कान्तिपुर दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *