काठमाडाैं चक्रपथमा मापसे गरेर सवारीसाधन हाँक्ने सात चालक समातिए
थानकोट ।
ट्राफिक प्रहरीले पुनः विशेष चेकिङ र सचेतना कक्षा थालेको छ ।
मादकपदार्थ सेवन (मापसे) गरेर सवारीसाधन हाँक्न सात चालकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार, बा५ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस, बा ५ ख ७९१ नम्बरको भाडा बस, वाग्मती प्रदेश ०१–००२ ज ८५१८ नम्बरको हायस, वाग्मती प्रदेश–०१–००६ ख ८९८३ नम्बरको महानगर यातायातका बस चालकलाई नियन्त्रणमा लिइएको छ ।
यस्तै, बा४ख ९३५६ नम्बरको बस, वाग्मती प्रदेश ०१–००६ ख ५४३१ नम्बरको रात्रिकालिन बस, बा ४ ख ४१० नम्बरको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
उनीहरूलाई आवश्यक अनुसन्धानका निम्ति सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको सुवेदीले बताए । यी सबै सवारीसाधन रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।
“ट्राफिक कार्यालयहरू जलेपछि चप्पल र सादा पोसाकमै सडकमा खटिएका थियौँ । अब ट्राफिकप्रति नागरिकको भरोसा टुट्न नदिन पुरानै अवस्थामा फर्किंदै छौँ,” उनले भने ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड, आगजनी र लुुटपाट गरिएको थियो । आफ्नो कार्यालयमा आगजनीपछि ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीसहितको टोलीले टुकुचामा हामफालेर ज्यान जोगाएको थियो । त्यसयता ट्राफिकले कुनै पनि किसिमको कारबाही गरेको थिएन ।












