विश्वकप क्रिकेट लिग-२ मा अमेरिकाको लगातार दोस्रो जित, युएई ४ विकेटले पराजित
थानकोट ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो ।
जितका लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
उसका मिलिन्दकुमारले सर्वाधिक ७१ रन तथा कप्तान मोनांक पटेलले ५० रन बनाए । त्यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । उसका हर्षित कौशिकले सर्वाधिक ५३ रन जोडे ।
अमेरिकाले आइतवार भएको खेलमा नेपाललाई १ सय ६ रनले हराएको थियो ।
अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्षस्थानमा छ । १७ खेलमा ६ अंक रहेको युएई पुछारमा छ । नेपाल १७ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ ।
नेपाल र युएईबीच भोलि (बिहीबार) खेल हुनेछ ।
नेपाल, अमेरिका र युएईबीच अहिले श्रृंखला चलिरहेको हो ।
तस्बिरः इमिरेट्स क्रिकेट














