चन्द्रागिरि नगरपालिकामा बलम्बुमा महालक्ष्मी जात्रा सुरु
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित प्राचीन नेवाः बस्ती बलम्बुमा महालक्ष्मी जात्रा ‘लाः तिइ मर’ बुधबार सुरु भएको छ ।
वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् मुः अष्टमीबाट जात्रा सुरु हुन्छ ।
यस दिन ‘छ्वयल्बु’ गरी बलम्बुको नेवाः समुदायले आफ्नै लोकपरिकार छोयला, तखाः (थलथले), रक्सीलगायतका परिकार बनाउँछन् ।
यसलाई न्हूँद ११४६ (नयाँ वर्ष) सुरु भएपछिको पहिलो जात्राका रूपमा लिइन्छ ।
स्थानीय भाषामा बलम्बुको जात्रालाई लाः तिइ मर’, एक सातापछि थानकोटमा हुने जात्रालाई सकिमरः र एक महिनापछि सतुङ्गलमा हुने जात्रालाई बखुमरः (सातगाउँले जात्रा) भनिन्छ । यी जात्रा दुवा गुठीले सञ्चालन गर्दछ ।
स्थानीय विनोद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको अनेक मौलिक पक्ष रहेको जानकारी दिए ।
उपत्यकामा मनाइने प्रायः जात्रा उस्तै उस्तै देखिन्छ तर हरेक जात्राको भित्री स्वरूप नितान्त फरक हुन्छ, उनले भने । जात्रामा देवीदेवतालाई मासुको झोलसँग भातको भोग लगाउने प्रचलन रहेको उनले बताए । लाः को अर्थ मासु, तिइको अर्थ झोल र मर को अर्थ भात हो ।
पुजारी शान्ति गुर्जुले नवमीका दिनलाई ‘तयारीको दिन’ भनिने बताए ।
उनका अनुसार नवमीमा पाहुनालाई बोलाई सत्कार गर्नका लागि विभिन्न परिकार तयार पारिन्छ । सोही दिन जात्रामा आएका पाहुनाको मनोरञ्जनका लागि विविध सांस्कृतिक कार्यक्रम आयोजना हुन्छ ।
कार्यक्रममा स्थानीय युवाले विविध बाजागाजाका साथ नाचगान गर्छन् ।
दशमी जात्राको सबैभन्दा महत्वपूर्ण दिन हो । त्यस दिन बिहानै नौ जना गुठियारले कसैले नदेख्ने गरी मठमा गई कुमारीको पूजा गर्छन् । विधिवत् रूपमा पूजा गरिसकेपछि गुठियारहरू नाट्येश्वरको पूजा गर्न जान्छन् । त्यसपछि सात जना गुठियार आएर कुमारीको प्रतिमालाई नाट्येश्वरको मन्दिरमा लग्छन् । त्यही समयमा माटोको पाःला (बटुको) मा दुई माना जाँड गुठियारले पिउने चलन छ । त्यसपछि गुठीका नौ जना गुठियार महालक्ष्मीको पूजाका निम्ति महालक्ष्मी मन्दिर जान्छन् । महालक्ष्मीको पूजा गर्दा देवीको शिरबाट फूल खसेपछि मात्र दशमीको जात्रा विधिवत् रूपमा आरम्भ हुन्छ । पूजालगत्तै मन्दिरमा रहेका मूर्तिलाई खटमा राखिन्छ । त्यस्तै कुमारीको प्रतिमूर्तिलाई ढकीमा राखिन्छ ।
कुमारीलाई बलि दिइएको राँगाको सानो आन्द्रालाई सुकाएर बनाइएको मालाले सिँगारिन्छ । त्यसपछि ढकीलाई पीठमा लगिन्छ र खटको जात्रा शुभारम्भ हुन्छ । जात्रा गर्दा सर्वप्रथम गणेशको र लगत्तै महालक्ष्मीको रथलाई पीठमा लगिन्छ । पीठमा लगिसकेपछि बृहत् पूजा गरिन्छ । नगरको हरेक घरबाट पीठमा पूजा गर्न जानुपर्ने हुन्छ । पूजा सकिएलगत्तै नेपाल सरकारको प्रतिनिधित्व गरेर द्वारेले पूजा गर्छन् । पूजा सकिएलगत्तै बाजागाजाको तालमा ताल मिलाई रथ दिनभरि नचाइन्छ । रथ नचाउनेले खाली खुट्टा नचाउनुपर्ने हुन्छ ।
बलम्बु महालक्ष्मी जात्राका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं. १२ ले आज र भोलि (कार्तिक १३ र १४) स्थानीय सार्वजनिक बिदा दिएको छ।
तस्बिरः धर्मेन्द्र महर्जन












