काठमाडौंमा फेरि बल्झियो फोहोरको समस्या

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । स्थानीयबासीले विगतमा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै बुधबारदेखि नै काठमाडौंबाट गएको फोहोर ल्याण्डफिलसाइटमा फाल्न दिएका छैनन् ।

ककनी गाउँपालिका, धुनिबेसी नगरपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीयले संयुक्त रुपमा सहमति कार्यान्वयनमा नगएसम्म काठमाडौंको फोहोर मान्य नहुने भन्दै रोक लगाएका छन्  ।

स्थानीयबासी स्वतस्फूर्तरुपमा विरोधमा उत्रिएपछि जनप्रतिनिधिले पनि स्थानीयलाई साथ दिएका छन् ।

ककनी गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले स्थानीय नागरिकको आवाजलाई आफूहरूले सुनेर उनीहरूका माग सम्बोधनका लागि लागि परेको बताए ।

नागरिकसँगको कुराकानीमा उनले भने, ‘हामीले विगतदेखि नै पटक पटक भएका सम्झौता कार्यान्वयनका लागि खबरदारी गर्‍यौँ । यहाँ फोहोर फाल्न पाउञ्जेलसम्म उहाँहरूले कुनै सुनुवाइ गर्नुभएन । अब यहाँका नागरिक नै आन्दोलनमा उत्रिएका छन् । यो समस्या समाधानका लागि हामी पनि नागरिककै साथमा हुनेछौँ ।’

वडाध्यक्ष बलामीले फोहोर व्यवस्थापनमा दुई दिनदेखि अवरोध भएपनि समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले कुनै पहल नगरेको बताए ।

उनले भने, ‘हामी स्थानीयको मागलाई सम्बोधन गर्न लागि परेका छौँ । उनीहरूसँगको छलफलमा छौँ । तर सरोकारवाला काठमाडौं उपत्यकाका कुनै पनि जनप्रतिनिधिले चासो दिनुभएको छैन । स्थानीयले आफ्नो हकका लागि विगतको सम्झौता नै कार्यान्वयनको माग गरेका छन् । यो माग पूरा गर्न हामी दत्तचित्त भएर लाग्छौँ ।’

स्थानीयबासीले नयाँ कुनै मान नराखेको बताउँदै विगतमा भएको १८ बुँदे माग पूरा गर्न खबरदारी गरेको बताएका छन् । उनीहरूले आफ्नो ठाउँ काठमाडौंको फोहोर राख्नका लागि मात्र नभएको बताउँदै अब कुनै पनि हालतमा फोहोर ल्याउन नदिने बताएका छन् ।

बुधबार झण्डै एक सयको संख्यामा आएका फोहोरका गाडी फर्काइएको र बिहीबार आएका सवारीलाई पनि प्रवेशमा रोक लगाएको स्थानीय बताएका छन् ।

ककनी, धुनीबेसी र  बेलकोटगढी तीनै स्थानीय तहका नागरिक तथा जनप्रतिधिले माग सम्बोधनका लागि पहल गर्ने, माप पूरा नभएसम्म कुनै सम्झौता नगर्ने बताएका छन् ।

बिहीबार तीन वटै पालिकाका जनप्रतिनिधि, स्थानीयबासी तथा सुरक्षा निकायका अधिकारीसँग छलफल भएको वडाध्यक्ष बलामीले बताए । उनले भने, ‘आज हामीले दिनभर यहाँका जनताका कुरा पनि सुन्यौँ । धादिङबेसीबाट सीडीयो, सहायक सीडीयो पनि आउनु भएको थियो । उहाँहरूलाई यहाँको फोहोरको अवस्था देखायौँ । नागरिकाका आजाव पनि सुनायौँ । हामी समस्या समाधानको पहलमा छौँ । तर सरोकारवाला निकायले समयमै ध्यान नदिँदा विकराल रुप लिन सक्छ ।’

के थियो १८ बुँदेमा सम्झौतामा

१८ बुँदे सम्झौता काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर निर्वाचित भएपछि गरिएको सम्झौता हो । त्यो बेला पनि फोहोर नउठेपछि बालेन आफैँ बञ्चरेडाँडा पुगेर सम्झौता गरेका थिए ।

तत्कालीन अवस्थामा शहरी विकास मन्त्रालय र महानगरपालिकाले पटकपटक छलफल गरी सम्झौता गरेको थियो ।

स्थानीयवासीका माग सम्बोधन गर्नेगरी गरिएको लिखित सम्झौतामा काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोलले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर गरिएको सम्झौताका मुख्य बुँदामा एकमहिना भित्र फोहोरको दुर्गन्ध व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने, लिच्चड व्यवस्थापन दुई महिनाभित्र गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था मिलाउनेसहितका बुँदा उल्लेख छन् ।

फोहोर ढुवानी गर्न चाहिने पूर्वाधारको विषय, बस्ती व्यवस्थापन तथा स्थानीयबासीको दैनिकी सहज बनाउने लगायतका सम्झौता भएका थिए ।

प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर सुधारका लागि सामाजिक तथा स्वास्थ्य सम्बन्धी कार्यक्रम, शिक्षाको गुणस्तर वृद्धि, कृषि प्रवर्द्धन, हरियाली क्षेत्रको विकास गर्ने सम्झौतामा उल्लेख थियो । फोहोरलाई स्रोतमा वर्गीकरण गरी नकुहिने फोहोर मात्र ल्याउने र कुहिने फोहोर महानगरले नै व्यवस्थापन गर्ने, तर काठमाडौँ महानगरपालिकाले पूर्णरुपमा फोहोरको वर्गीकरण गर्न सकेको छैन ।

यी सम्झौताका बुँदा कागजमामात्र सीमित भएपछि अब खबरदारी गर्नुपरेको स्थानीयले बताएका छन् । महानगरले सुरुवाती दिनमा केही भौतिक पुर्वाधारसँग जोडिएका काम गरेपनि अहिले कुनै काम नगरेको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयको आवाजलाई मजबुद बनाउँदै अहिले जनप्रतिनिधि पनि सडकमा उत्रिएका छन् । विगतमा भएका सहमति कार्यान्वयन नभएपछि जनप्रतिनिधि ले पनि अब फोहोर र विकास दुवै नचाहिने भन्दै जनताका आजावलाई थप बुलन्द बनाउन थालेका छन् ।

ककनी गाउँपालिका-१ वडाध्यक्ष बलामीले भने, ‘यो आजको कुरा होइन । विगतदेखि कै आवाज हो । त्यसमा पनि हामीले मात्र भनेको कुरा होइन । उहाँहरूले नै लेखेर हस्ताक्षर गर्नुभएको छ । सम्झौता गर्ने कार्यान्नवयन नगर्ने अटेर परिपाटीको विकास भयो । अब हामीलाई फोहोर फाले बापतको कुनै विकास पनि चाहिएन । त्यहाँको फोहोर पनि चाहिएन । हामी फोहोरको डंगुरमा बसेर काठमाडौंलाई सफा राख्ने अभियानमा जोडिन आवश्यक छैन ।’

यहाँका नागरिकको स्वास्थ्यका बारेमा किन कसैले चासो र चिन्ता नलिएको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘हामीले सकारात्मक रुपमा समस्या समाधानको पहल गरेका छौँ । सरोकारवालाले वेवास्ता गरेका छन् । यही अवस्था रहे उहाँहरूको फोहोर उहाँहरूले नै राख्नुहुन्छ । यहाँका नागरिक थप फोहोरमा बस्नेछैनन् ।’

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *