बन्चरेडाँडा पुगेर मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने बताएपछि जुट्यो सहमति
थानकोट ।
सहरी विकास मन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ ।
आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका अनुसार, मन्त्रीसँग मौखिक सहमति जुटेको छ ।
घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए ।
“महानगरसँग केही पनि भएको छैन । सहरी विकास मन्त्रालयसँग हस्ताक्षर भएको छैन । मन्त्रीको बोलीलाई जनताले सहमतिको रूपमा लिएका छन् । स्थानीयले एक साता भनेका थिए । तर, मन्त्रीले नै १५ दिनभित्र खास कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि नयाँ मन्त्री भनेर छोडेका छन्,” उनले भने ।
चार दिनदेखि आन्दोलनरत पीडित स्थानीयले अनिश्चितकालका लागि फोहोर फाल्न रोक लगाएका थिए । त्यसपछि सूचना जारी गर्दै घरबाट फोहोर ननिकाल्न अनुरोध गरिएको थियो ।
यसअघि, वार्ताका लागि काठमाडौं पुगेका प्रतिनिधिसँग भएको छलफल निष्कर्षविहीन बनेको थियो ।












