धादिङमा आङ नै सिरिङ्ग हुने दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान
थानकोट ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७ सातकिल्ला सडकमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार साँझ करिब साढे ६ बजेतिर काठमाडौंबाट महादेवबेँसीतर्फ जाँदै गरेको बा ७० प १६५१ नम्बरको मोटरसाइकल र गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २८५२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि सो दुर्घटना भएको हो ।
त्यसपछि बा ७० प १६५१ नम्बरको मोटरसाइकल चालक सडकमा ढलेपछि काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकको अगाडिको दाहिने टायरमुनि परेका थिए।
सो ट्रकले घिसारिदिँदा उनी करिब १५ मिटर तानिँदै अघि गएको प्रहरीको भनाइ छ । सो क्रममा ती मोटरसाइकल चालक थाक्रे-६ नौकिल्लाका अन्दाजी ६० वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बा ९७ प २८५२ नम्बरका मोटरसाइकल चालक गजुरी गाउँपालिका–१ का ३० वर्षीय राजन श्रेष्ठ घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
दुर्घटनापछि घटनास्थलमा स्थानीयबासीले सडक अवरूद्ध पारेका थिए ।
सो पछि घटनास्थलमा इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी निरीक्षक नन्दराज जैसीको कमाण्डमा ट्राफिकसहित २० जनाको टोली खटिएको थियो।
ट्रकका चालक बेनिघाट रोराङ–५ का ३५ वर्षीय धनबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि हाल प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको प्रहरीले जनाएको छ ।
तस्बिरः रेडियो राजमार्ग












