५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउने क्रम आजपनि जारी रहने
थानकोट ।
‘भिटामिन ‘ए’ खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ हिजो (कार्तिक २०) बाट सुरु भएको भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने क्रम आजपनि जारी रहने भएकाे छ।
राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत सरकारले बिहीबार र शुक्रबार (हिजो र आज) देशैभरी भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो ।
नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन्।
हरेक वर्ष कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गतेमा गरेर सो कार्यक्रम सञ्चालन गरिने भएपनि यो वर्ष कार्तिक पहिलो साता तिहार पर्व परेपछि सो कार्यक्रम २० र २१ गतेका लागि सारिएको थियो ।
सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ।
यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अभियानमा चन्द्रागिरि नगरका ९ हजार भन्दा धेरै बालबालिका सहभागी गराइने चन्द्रागिरि नगरपालिका स्वास्थ्य सेवा शाखाले जनाएको छ ।












