दिनको समयमा कलंकी-नागढुङ्गा सडक कालोपत्रे गर्दा चन्द्रागिरिबासीले सास्ती व्यहोरेपछि….
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डमा अहिले सडकमा कालोपत्रे थप्ने कार्य जारी छ ।
सुरुका दिन दिनको समयमा सडक कालोपत्रेको कार्य भइरहँदा सडकयात्रीहरूले हैरानी पाएपछि रातको समयमा मात्रै सडक कालोपत्रेको कार्य गर्न नगरप्रमुख घनश्याम गिरीले निर्देशन दिएपछि कार्तिक २४ गतेबाट रातको समयमा सडक कालोपत्रे गर्न थालिएको हो।
चन्द्रागिरि नगरपालिकासँगको समन्वयमा उक्त मुख्य सडक स्तरोन्नतिको कार्य डिभिजन सडक कार्यालय काठमाण्डौले गरिरहेको हो ।
सवारी आवागमन र ट्राफिक व्यवस्थापनमा कठिनाई भएसँगै चन्द्रागिरि नगरपालिका, डिभिजन सडक, ट्राफिक प्रहरी र निर्माण व्यवसायी समेतको समन्वयमा बेलुकी ८ बजेपछि सो कार्य जारी रहेको हो, सो कार्य अहिले तीनथाना क्षेत्रमा पुगेको छ ।
सडक कालोपत्रे भइसकेपछि मार्किंग, लेन सेपरेसन, जेब्रा क्रसिङ लगायतका काम शुरु हुने नगरप्रमुखको सचिवालयले जनाएको छ । बुधबार राति नगरप्रमुख घनश्याम गिरीसम्मिलित टोलीले तीनथाना क्षेत्रमा सडक कालोपत्रे कार्यको अनुगमन गरेका छन् ।
ओमकार विल्डर्सले आर्थिक वर्ष २०७४-७५ मा यस सडक मर्मतका लागि ठेक्का पाएकोमा अझै कार्य सकिएको छैन् ।
सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडाैंले विभिन्न मितिमा सडक निर्माण एवं मर्मतको ठेक्का हात पारेका निर्माण व्यवसायीहरूसँग ठेक्का सम्झाैता रद्द गर्ने आशयसहित सार्वजनिक सूचना जारी गरेपछि कलंकी-नागढुङ्गा सडक खण्डको स्तरोन्नतिका लागि समेत थप तदरुकता देखिएको हो ।
कलंकी-नागढुङ्गा सडक मर्मतमा ढिलाइ, ठेक्का तोड्ने सडक डिभिजनको चेतावनी












