नेपाली महिला फुटबल टोलीको बिदाइ
थानकोट ।
इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज (मंसिर ७) बिदाइ गरिएको छ ।
कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे ।
यही मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।
महासचिव राईले भने, “महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौँ, परिणामस्वरूप अहिले हामीसँग १० वटा टोली छन् । हालैका केही अन्तर्राष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौँ भन्ने देखिएको छ ।”
टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन् ।














