नेत्रहीन टी-२० महिला विश्वकप क्रिकेट: उपाधि भारतलाई, नेपाल उपविजेता

Thankot Times

थानकोट ।

नेत्रहीन टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको हो ।

खेलमा पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो ।

नेपालका लागि सरिता घिमिरेले सर्वाधिक अविजित ३५ रन र बिमला राईले २६ रन बनाएकी थिइन् ।

नेपालले प्रस्तुत गरेको ११५ रनको लक्ष्य भारतीय टोलीले १२.१ ओभरमा तीन विकेटको क्षतिमा हासिल गरेको थियो ।

भारतका लागि करुणा केले २७ बलमा सर्वाधिक ४२ रन बनाएकी थिइन् । फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाएकी थिइन्, जसमा चार चौका पनि समावेश छ ।

भारत, नेपाल, पाकिस्तान, श्रीलंका, अस्ट्रेलिया र अमेरिकाका ६ टोली सम्मिलित टी–२० प्रतियोगिता नोभेम्बर ११ मा दिल्लीमा सुरु भएको थियो । केही खेलहरू बेंगलुरुमा खेलिएका थिए ।

नकआउट चरणका खेलहरू श्रीलंकाको राजधानी कोलम्बोमा खेलाइएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *