बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन

Thankot Times

थानकोट ।

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार धर्मेन्द्रका परिवारका सदस्यहरू सोमबार मुम्बईको विले पार्ले शवदाह गृह पुगेका छन् ।

हेमा मालिनी र उनकी छोरी इशा देओल घाटमा पुगेका बीबीसीले जनाएको छ । अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन पनि घाटमा पुगेका समाचारमा उल्लेख छ ।

अभिनेता आमिर खान पनि घाटमा पुगिसकेका छन् । धर्मेन्द्र लामो समयदेखि बिरामी थिए ।

सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

‘शोले’, ‘चुपके चुपके’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘प्रतिज्ञा’लगायत दर्जनौँ सदाबहार चलचित्रमा उनले काम गरेका छन् ।

उनले थुप्रै प्रतिष्ठित अवार्ड जितेका छन् । सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका धर्मेन्द्रलाई भारत सरकारले सन् २०१२ मा पद्मभूषणबाट सम्मान गरेको थियो ।

धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पञ्जाबको नसरालीमा भएको थियो । उनले १९६० मा चलचित्र ‘दिल भी तेरा हम भी तेरे’बाट सिनेमा यात्रा सुरु गरेका थिए ।

धर्मेन्द्रले १९६० को दशकको मध्यतिर ‘फूल और पत्थर’ (१९६६) र ‘अनुपमा’ (१९६६) जस्ता सिनेमा रोमान्टिक र नाटकीय भूमिकाहरू खेलेर स्टारडम कामय गरेका थिए ।

उनको सुरुआती स्टारडम आकर्षक लुकसँगै रोमान्टिक र कमेडी दुवैमा निपूर्णता हासिल गर्ने क्षमतामा आधारित थियो । यसको उदाहरण ‘चुपके चुपके’मा देखाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *