बचत तथा ऋणको कारोबार गर्ने सबै सहकारीलाई कर्जा सूचना केन्द्रमा आबद्ध हुन निर्देशन
थानकोट ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सबै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई अनिवार्य कर्जा सूचना केन्द्रमा सहभागी हुन उर्दी जारी गरेको छ ।
सहकारी ऐन, २०७४ (संशोधनसहित) को दफा ८१ ले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्रचलित कानुनअनुसार स्थापना भएको कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गरी कर्जा कारोबारसम्बन्धी सूचना नियमित रूपमा आदानप्रदान गर्नुपर्ने व्यवस्था छ । सोही नियमअनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता लिन प्राधिकरणले निर्देशन गरेको हो ।
कर्जा सूचना केन्द्रमा सहकारी संस्थाहरूलाई आबद्ध गराउने सन्दर्भमा आवश्यक प्राविधिक तथा कार्यगत तयारीका लागि प्राधिकरणबाट कर्जा सूचना केन्द्र लिमिटेडसँग चरणबद्ध रूपमा छलफल गरिरहेको छ । पछिल्लो पटक २८ कात्तिकमा प्राधिकरणको व्यवस्थापन समिति, कर्जा सूचना केन्द्र लि. र सहकारी अभियानका प्रतिनिधिहरूबीच कर्जा सूचना केन्द्र लिमिटेडको सदस्यता प्राप्त गर्ने प्रक्रिया, तथ्यांक व्यवस्थापन प्रणाली र ऋण कारोबारसम्बन्धी सूचना आदानप्रदानको अभिमुखीकरण कार्यक्रम भएको थियो । सोपश्चात् कर्जा सूचना केन्द्रले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाइ सदस्यताका लागि आवश्यक सहजीकरण गरिदिनका लागि प्राधिकरणसमक्ष आग्रह गरेको थियो ।
योसँगै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको ९ मङ्सिर (मंगलबार) सम्पन्न बोर्ड बैठकले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सम्पूर्ण सहकारी संस्थाहरूलाई कर्जा सूचना केन्द्रमा आवद्धताका लागि आह्वान गर्ने निर्णय गरेको हो ।
बुधबार एक परिपत्र जारी गर्दै प्राधिकरणले सबै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा सदस्यताका लागि केन्द्रले सूचना जारी गरेपछि आवेदन दिई आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता प्राप्त गर्न भनेको छ । साथै सम्पूर्ण बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई सदस्यता प्रदान गर्न कर्जा सूचना केन्द्रलाई समेत प्राधिकरणले अनुरोध गरेको छ ।













