एमालेको ११औँ महाधिवेशन: सामाजिक सञ्जालमा ‘जिस्क्याइएका’ कृष्णगोपाल श्रेष्ठ सचिवमा पराजित
थानकोट ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिएका कृष्णगोपाल श्रेष्ठ पराजित भएका छन् ।
उनले कुल खसेको २ हजार २ सय २७ मत मध्ये ६२५ मत मात्रै प्राप्त गरे ।
अध्यक्ष केपी ओली निकट श्रेष्ठले अधिवेशनमा ओली प्यानलबाट सचिवको दाबेदारी गरेकोमा सो नभएपछि उनले इश्वर पोखरेलको पक्षबाट सचिवमा उम्मेदवारी दिएका थिए । यद्यपी पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका सबै जना पराजित भएका छन् ।
नेकपा एमालेको सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका छन्। उनीहरू सबै अध्यक्ष केपी ओली समुहका हुन् ।
निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।
कृष्णगोपाल श्रेष्ठले सचिव पदमा उम्मेदवारी दिएपछि उनले विगतमा विभिन्न मञ्चहरूमा दिएका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा पुनः चर्चामा आएका थिए ।
श्रेष्ठ नेकपा एमालेबाट २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं जिल्लाबाट प्रत्यक्षतर्फ निर्वाचित एक्ला सांसद् हुन् । उनी चन्द्रागिरि, नागार्जुन र काठमाडाैं महानगरका विभिन्न वडा समेटिएको काठमाडाैं क्षेत्र नं. ९ बाट निर्वाचित भएका थिए ।
सचिव पदका उम्मेदवार कसले कति मत पाए ?
- महेश बस्नेत : १५४४ (विजयी)
- पद्माकुमारी अर्याल : १५३० (विजयी)
- छविलाल विश्वकर्मा : १५०६ (विजयी)
- शेरधन राई : १५०३ (विजयी)
- हिक्मतकुमार कार्की : १३३७ (विजयी)
- खगराज अधिकारी : १२३१ (विजयी)
- यमलाल कँडेल : ११८५ (विजयी)
- राजन भट्टराई : ११८१ (विजयी)
- भानुभक्त ढकाल : ११०८ (विजयी)
- गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
- ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
- रचना खड्का : ८७७ (पराजित)
- कर्णबहादुर थापा : ८४७ (पराजित)
- अग्निप्रसाद खरेल : ७१६ (पराजित)
- विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
- कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
- लालबाबु पण्डित : ४९६ (पराजित)
- पेम्बा लामा : ४९३ (पराजित)
- पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
- इन्द्रलाल सापकोटा : ४०५ (पराजित)
















