बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, सामाजिक सञ्जाल हर्षानुभुतिको ओइरो
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच पाँच घण्टा वार्ता भएको छ ।
उनीहरू दुईबीच सोमबार राति कमलादीस्थित रास्वपा नेता अशिम शाहको घरमा वार्ता भएको हो ।
भेटवार्ताका लागि दुवै नेता राति ८ बजे त्यहाँ पुगेका थिए भने उनीहरू निस्कँदा रातिको १ बजेको थियो । राति उनीहरू एउटै गाडीमा निस्किएका थिए । एउटै गाडीमा बसेका उनीहरूले सञ्चारकर्मीहरूलाई एकसाथ हात हल्लाएर सम्बोधन गरेका थिए ।
उनीहरूबीच भएको कुराकानीको औपचारिक जानकारी सार्वजनिक भएको छैन । यद्यपि, अशिम शाहले एउटा सुखद् सुरुवात भएको बताए ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन–दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपाली लाई बधाई ।’
लामिछाने र शाह एउटै गाडीमा बसेर बाहिरिएको दृश्य सोमबार रातिदेखि नै सामाजिक सञ्जालमा चर्चामा रहेको छ।














