नयाँ क्रियाशील सदस्यता समयमै पठाउन सबै जिल्ला कार्यसमितिलाई नेपाली कांग्रेसकाे पत्राचार
थानकोट ।
नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सहज, व्यवस्थित र विधानसम्मत बनाउन सबै तहका पार्टी समितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न पत्राचार गरेको छ ।
मंगलबार महामन्त्री गगन थापाले मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले नयाँ क्रियाशील सदस्यता वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गर्न/गराउन ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेका हुन् ।
यसअघि केही क्षेत्रमा क्रम संख्या नभएका फारम वितरण भएको जानकारी प्राप्त भएपछि क्रम संख्या सहितका नयाँ फारम पुनः पठाइएको थियाे ।
कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका अनुसार नविकरण तथा नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया, मापदण्ड र कार्यविधिबारे जिल्ला तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्रमार्फत विस्तृत जानकारी गराइसकिएको पार्टीले जनाएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरणका क्रममा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ/नगरपालिका तथा वडा कार्यसमितिसँग आवश्यक समन्वय, सहजीकरण, सहयोग र अनुगमन गर्नुपर्ने उल्लेख गरिएको छ ।
तहगत रूपमा सदस्यता वितरणको अनुगमन गर्दै कुनै समस्या वा उजुरी आएमा समयतालिकाभित्रै छानबिन गरी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रमा जानकारी गराउन पनि भनिएको छ ।
पार्टीले नयाँ क्रियाशील सदस्यता १५ औँ महाधिवेशनको कार्यतालिका, विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्रअनुसार सहज र व्यापक रूपमा वितरण गर्ने नीति रहेको जनाएको छ ।















