निर्वाचन प्रचारमा विद्यालय क्षेत्र प्रयोग गर्न नपाइने

Thankot Times

थानकोट ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार गर्दा दल तथा उमेदवारले विद्यालय र विश्वविद्यालयको क्षेत्र प्रयोग गर्न पाउने छैनन् । निर्वाचन आचारसंहिता, २०८२ यस्तो व्यवस्था गरिएको हो ।

“कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,” आचारसंहितामा भनिएको छ ।

सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले आफ्नो परियोजनाको साधनस्रोत र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन नहुने आचारसंहितामा जनाइएको छ ।

“घर वा जग्गा धनीको स्वीकृति नलिई कसेका निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने,” आचारसंहितामा भनिएको छ ।

राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित पहिरन वा स्टीकरलगायत सांकेतिक सामग्री उत्पादन, प्रयोग र बिक्री वितरण तथा प्रदर्शन गर्न/गराउन नहुने पनि जनाइएको छ । 

“राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,” आचारसंहितामा उल्लेख छ ।

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्रहत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न/गराउन पाइने छैन । बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

“सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,” आचारसंहितामा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ