एसइई-२०८२: सतुङ्गलस्थित जेसिस स्कुलका रञ्जित कुमार श्रेष्ठलाई ४ जीपीए
थानकोट ।
गत वर्ष चैत्र महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार राति प्रकाशन भएसँगै सम्बन्धित विद्यालयहरूले आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सार्वजनिक गर्ने क्रम जारी छ ।
विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयलहरूले भने आ-आफ्नो विद्यार्थीले प्राप्त गरेको नतिजा सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।
सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।
परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिएको छ।
प्राप्त विवरण अनुसार चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ स्कुलका रञ्जित कुमार श्रेष्ठले एसइई-२०८२ मा ४ जीपीए प्राप्त गरेका छन् ।
अन्य परीक्षार्थीहरूले प्राप्त गरेको जीपीएको विवरण रूजु गर्ने कार्य भइरहेको विद्यालयका प्रधानाध्यापक सरोज महर्जनले जानकारी दिए । उक्त विद्यालयबाट गत साल ५४ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामेल भएका थिए ।











