प्रतिनिधि सभा सदस्य निर्वाचनः दैनिक १२ घण्टाभन्दा बढी प्रचार गर्न नपाइने

Thankot Times

थानकोट ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगले हालै स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल तथा उमेदवारको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको हो ।

“जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ,” आचारसंहिताअन्तर्गत राजनीतिक दल, उमेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्नेछ ।

आचारसंहितामा उमेदवार र उसको परिवारका सदस्यको घर नजिक गई विरोध गर्न नहुने जनाइएको छ । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन ।

“जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न पाइने छैन,” आचारसंहितामा स्पष्ट भनिएको छ ।
जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्नै व्यक्तिले दल वा उमेदवारको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी,  भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न पाउने छैनन् ।

आचारसंहितामा भनिएको छ, “कुनै राजनीतिक दल, उमेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्‍याउन नहुने ।”

निर्वाचन आचारसंहिता अनुसार कसैको निजी घरजग्गा, सार्वजनिक भवन, उद्यान, सडकका भित्ता, पोल, कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उमेदवारको निर्वाचन चिह्न राख्न र टाँस्न पाइने छैन ।

“विभिन्न क्लव, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न पाइने छैन,” आचारसंहितामा उल्लेख छ ।

उमेदवार तथा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रहीहरू प्रदर्शन र प्रसारण गर्न पाउने छैनन् ।
तर, राजनीति दल र उमेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रममा दश/दश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न भने पाइने छैन ।

“निर्वाचनमा उमेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उमेदवार, प्रस्तावक, समर्थकसहति २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजा, गाजा तथा झाँकीसहित जान पाइने छैन,” आचारसंहितामा भनिएको छ ।

निर्वाचनको प्रसारप्रसारका क्रममा र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रगोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न गराउन नहुने आचारसंहितामा व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *