राप्रपाको समानुपातिक सूचीमा उपाध्यक्षकी श्रीमती, पार्टीभित्रैबाट विरोध
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक सूचीमा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नै श्रीमती सरस्वती लामालाई राखेको भन्दै पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् ।
उनले नेतृत्वलाई अपिल गर्दै पार्टी बचाउने भए समानुपातिक सूचीकरण फेरबदल गर्न र विपन्नलाई अवसर दिन आग्रह गरेका छन् ।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “२०६४ सालदेखि २०७९ सालसम्म एउटै परिवारबाट राप्रपाको समानुपातिक कोटा र गठबन्धनबाट चारजना सांसद भइसक्दा पनि नपुगेर अझै २०८२ सालमा पार्टीका उपाध्यक्षले आफ्नै कान्छी श्रीमतीलाई राप्रपाको समानुपातिक कोटाको शीर्ष स्थानमा राख्नु यो कस्तो अन्याय हो ?”
शाहीले थपेका छन्, “पार्टीले कारबाही गरेर साधारण सदस्य नहुने गरी निष्कासन गरिएकी एकपटक पनि राप्रपालाई मतदान नगरेकी मान्छेलाई पहुँचका आधारमा राप्रपाको समानुपातिकको सूचीको शीर्षस्थानमा राख्नु यो राप्रपाका लागि मात्र होइन देशका लागि घातक छ ।”
प्रतिस्पर्धी ठान्ने हो भने समानुपातिक कोटाबाट हटेर प्रत्यक्ष चुनाव लड्न पनि उनले चेतावनी दिएका छन् ।
पार्टी नेतृत्वलाई उनले पार्टीको समानुपातिक सूचीमा पहुँचका आधारमा नभई विपन्नलाई अगाडि बढाउन पनि आग्रह गरेका छन् ।
प्रवक्ता शाहीले बाह्रखरीसित भने, “समानुपातिक सूचीमा परेकी खुस्बु ओली यसअघिको चुनावमा स्वतन्त्र उमेदवार बनेर पार्टी कारबाहीमा परिसकेकी छिन् । उनको ठाउँमा पहुँच नभएकाको नाम सिफारिस गर्नुपर्नेमा नेतृत्वले अघि सारेकाले यो निर्णय फिर्ता लिन म दबाब दिन्छु ।”














