कस्तो रहला आज मंगलबार दिनभरको माैसम ?
थानकोट ।
तराई भूभागमा हुस्सु र कुहिरो लाग्दा आज देशका केही क्षेत्रमा आंशिक बदली हुने भएको छ । बिहान तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
नेपालगञ्जमा बिहान पौने ६ बजे ५० मिटर भिजिविलिटी रहेको छ । बिराटनगर र भैरहवामा समान १०० मिटर भिजिविलिटी छ । धनगढीमा एक हजार र सिमरामा दुई हजार ५०० मिटर भिजिविलिटी रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।
“आइतबार र सोमबारजस्तै आज पनि तराईमा मध्याह्नपछि घाम लाग्ने देखिन्छ,” उनले भनिन्, “हिजो लुम्बिनी, वाग्मती र मधेस प्रदेशमा पश्चिमी वायुको प्रभावका कारण केही बाक्लो बादलका कारण कम घाम लागे पनि आज तुलनात्मक रूपमा मौसम सफा हुनेछ ।”
बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । दिउँसो अधिकतम ताप क्रम १६ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
मौसमविद् महर्जनका अनुसार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रुपमा बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
मौसमविद् महर्जनले राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहने बताइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रुपमा बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
यसैबीच, अबको कम्तीमा तीन दिन वर्षाको सम्भावना नरहेको मौसमविद् महर्जनको भनाइ छ । “अहिलेको प्रणाली हेर्दा कम्तीमा तीन दिन वर्षाको सम्भावना छैन,” उनी भन्छिन्, “केही दिनमा पर्यो भने भने उच्च हिमाली क्षेत्रमा हल्का वर्षा मात्रै हुने हो । तर, त्यो सम्भावना पनि निकै न्यून छ ।”
निरन्तर हुस्सु र कुहिरो लागिरह्यो भने चिसो बढ्ने उनको भनाइ छ । तर, बिहान केही समय कुहिरो लागे पनि चाँडै घाम लागेको अवस्थामा भने तापक्रम धेरै कम नहुने सम्भावना रहने मौसमविद् महर्जनले प्रष्ट पारिन् ।















