काठमाडौंको तापक्रम २.३ डिग्री सेल्सियसमा झर्यो
थानकोट ।
पछिल्लो समय दिनहुँजसो तापक्रम घट्ने क्रममा छ ।
तापक्रम घट्दै जाँदा चिसो बढिरहेको छ ।
काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षको हालसम्मको न्यून हो ।
गत शुक्रबार (पुस २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यसैबीच, आज तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु/कुहिरो लागिरहेको छ । विभागका अनुसार दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भू-भागका केही स्थानमा हुस्सु रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।











