निर्वाचनका लागि भन्दै भारतले दियो ६० भन्दा बढी सवारी साधन
थानकोट ।
भारत सरकारले नेपाललाई निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप अन्तर्गत ६० भन्दा बढी डबल क्याब पिकअप सवारी साधन उपहारस्वरुप प्रदान गरेको छ ।
मंगलबार काठमाडौंस्थित गृह मन्त्रालयमा आयोजित एक समारोहमा भारतबाट प्राप्त निर्वाचन सम्बन्धी सहयोगको पहिलो खेप गृहमन्त्री ओमप्रकाश अर्याललाई हस्तान्तरण गरिएको हो ।
नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. राकेश पाण्डेले आगामी चुनावको तयारीका लागि नेपाल सरकारले खोजेको सहयोगको एक हिस्साका रुपमा ६० भन्दा बढी डबल क्याब पिकअप सवारी साधन र अन्य सामग्रीहरु हस्तान्तरण गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले उपहारस्वरुप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरेका थिए ।
नेपाल सरकारको अनुरोधमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचन सम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ ।
आगामी निर्वाचनका लागि भारतले उपलब्ध गराउने सहयोगमा करिब ६५० सवारी साधनहरु रहेका छन् जुन आगामी केही हप्ताहरुमा विभिन्न ब्याचहरुमा उपलब्ध गराइने दूतावासले जनाएको छ ।
“भारतीय पक्षबाट भइरहेको यो सहयोग र समर्थन दुई देशबीच रहिआएको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिबिम्ब मात्र नभई भारत र नेपालका जनताबीचको गहिरो आपसी विश्वास र मित्रताको प्रतीक पनि हो,” भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
















